जनता माध्यमिक विद्यालयमा छानबिनको माग गर्दै अख्तियारमा उजुरी


२०७९ असार १ गते, इटहरी । इटहरी उपमहानगरपालिका-९ स्थित जनता माध्यमिक विद्यालयमा छानबिनको माग गर्दै अख्तियारमा उजुरी परेको छ । जेठ ३१ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा दर्ता भएको उक्त उजुरीको दर्ता नम्बर सी-०४५६२० रहेको छ ।

अभिवाभकको तर्फबाट दिइएको उजुरीमा अभिभावकहरूलाई सूचनाको हकबाट वञ्चित गरेको, आर्थिक पारदर्शिता नभएको देखि विद्यालयलाई निजी कम्पनीजस्तो बनाएर अत्यावश्यक प्रतिवेदन समेत नल्याइएको उल्लेख गरिएको छ । यस्तै पुस्तक खरिदमा निश्चित पुस्तक पसलबाट ल्याउनु भन्ने, नेपाली माध्यमको शिक्षा प्रणाली बन्दको तयारी गरेको, दरबन्दीका शिक्षकहरूले नपढाइ जागिर खाएको, व्यवस्थापन समिति र टाठाबाठा शिक्षकहरूका आफन्तहरुको विद्यालय भर्ती केन्द्र भएको पनि छानबिन गर्न माग गरिएको छ ।

२०७६ सालबाट प्रत्येक विद्यार्थीबाट अनिवार्य उठाइएको १९ हजार ७५० रूपैयाँ चन्दाको हिसाब नदेखाएको उजुरीमा उल्लेख गरिएको छ । कोठे बैठकबाट व्यवस्थापन समिति बनाइएको भन्दै उजुरीमा भनिएको छ, ‘यस जनता माध्यमिक विद्यालयमा आर्थिक हिनामिना र अपचलन फेरि पनि भइ नै रहने भएकोले साथै अभिभावहरूको कीर्ते हस्ताक्षरमा समेत छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन अनुरोध गर्दछौं ।’

यस विद्यालयमा कांग्रेसका पूर्वउपसभापति समेत रहेका शिव दाहाल शिक्षक छन् । यस्तै नेकपाकालका इटहरी सचिव र हाल एमालेका नेता काशिनाथ दंगाल व्यवस्थापन समितिका दोहोरिएर अध्यक्ष छन् ।

इटहरीका दुई ठूला दलका दुई मुख्य नेता नै विद्यालयमा भएकोले दलका नेताकार्यकर्तादेखि विद्यार्थी संगठनहरूले विद्यालयको बेथितिमा बोल्न नसकेको इटहरीको शिक्षा सुधार अभियानकर्मी सम्राट थापा बताउँछन् ।

थापालगायतका इटहरीका सरोकारवालाहरूले एक महिनादेखि इटहरीमा शिक्षा सुधार अभियान चलाइरहेका छन् ।