कांग्रेसबिनाको सरकार कल्पना गर्नसमेत सकिँदैन– नेपाल


काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धनले कांग्रेसबिना कुनै पनि काम गर्न नसक्ने बताएका छन् ।


मेची महाकाली समाजवादी जागरण अभियानको क्रममा धनुषाको जनकपुरधाम पुगेका अध्यक्ष नेपालले समाजवादी प्रेस संगठन मधेश प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा अहिले कांग्रेसबिनाको सरकारको कल्पनासमेत गर्न नसकिने बताएका हुन् । उनले प्रचण्ड नेतृत्वको सरकारका केही कमी कमजोरी भए पनि सुधार गर्न आफूहरु लागिरहेको बताए । उनले यही गठबन्धन कायम रहने पनि स्पष्ट पारे । उनले देशमा आएको परिवर्तनको रक्षाका लागि सधैं तत्पर रहने पनि जनाए ।


उनले संविधानमा उल्लेखित समाजवादका मुख्य आधार शिक्षा, स्वास्थ्य, रोजगारका लागि आफूहरु केन्द्रित रहेको र समृद्वि र सुशासनका लागि यो अभियान चलाइरहेको जानकारी दिए । पार्टीले गत आइतबारबाट अभियान चलाइरहेको छ । यो अभियान असोज २७ गते सुर्खेत पुगेर सकिने छ ।