चुनाव जितेर प्रधानमन्त्री बन्न ज्ञानेन्द्रलाई माधवको सुझाव



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई निर्वाचन जितेर प्रधानमन्त्री बन्न सुझाव दिएका छन् ।
नेपालले निर्वाचन जितेर संवैधानिक प्रक्रियाबाट प्रधानमन्त्री बन्न सकिने भन्दै ज्ञानेन्द्रलाई सुझाव दिएका हुन् । संविधानको धारा ७६ मा मन्त्रिपरिषद् गठनसम्बन्धी व्यवस्था रहेको छ । संविधान अनुसार प्रधानमन्त्री बन्न प्रतिनिधिसभाको सांसद हुनुपर्ने छ । संसदमा बहुमतप्राप्त दलको नेता प्रधानमन्त्री बन्न सक्ने धारा ७६ को उपधारा (१) मा व्यवस्था गरिएको छ । हिजो ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै शासन प्रणाली ठीक ढंगले चलेको छैन र मुलुक राम्ररी चलाउन सकेनन् भन्ने लागेको भए नेता भएर चुनाव लड्न र प्रधानमन्त्री बन्न सुझाव दिएका हुन् । ज्ञानेन्द्रले पछिल्लो समयमा देश र जनताको बढी चिन्ता गरिरहेका छन् । उनले वर्तमान शासन व्यवस्था ठिक नभएकाले जनताले दुःख पाएको भन्दै आएका छन् । विभिन्न मठ मन्दिर र तिर्थस्थल पुग्दा ज्ञानेन्द्रप्रति जनताले देखाएको आस्था र श्रद्धाले उनी मख्ख परेका छन् । नेपालमा गणतन्त्र आएपछि राजदरवार छोडेका उनले त्यतिबेला जनताले चाहे फेरि राजा भएर आउने बताएका थिए । सरकार र दलहरुका गलत क्रियाकलापले गर्दा जनताले यो शासन व्यवस्था भन्दा त बरु राजा र राजतन्त्र नै ठिक रहेछ भन्न पनि थालेका छन् ।


‘यदि राज्य शासन प्रणाली ठीक ढंगले चलेको छैन भने, मुलुक राम्ररी चलाउन सकेका छैनन् भने नेता भएर आए हुन्छ । जनताको बीचमा भिजे हुन्छ, चुनाव जितेर आए हुन्छ । राम्रो प्रधानमन्त्रीको रुपमा देशलाई विकल्प दिए हुन्छ’, नेता नेपालले भने ।


पछिल्लो समय सार्वजनिक कार्यक्रमहरुमा भाषण गर्दै आएका पूर्वराजा ज्ञानेन्द्र शाहले आफूले देशको अवस्था नियालिरहेको र जनता सन्तुष्ट नरहेको पाएको धारणा राख्दै आएका छन् । सत्ता साझेदार दलका अध्यक्ष नेपालले सरकारको अहिलेको स्थितिसँग आफू सन्तुष्ट नरहेको पनि बताए ।
‘हाम्रो पार्टी, हाम्रो मुलुकमा विद्यमान स्थितिको बारेमा गम्भीर छ, अहिलेको स्थितिसँग हामी सन्तुष्ट छैनौं तर असन्तुष्ट मात्रै भएर पनि केही हुँदैन । असन्तुष्टि समस्याको समाधान होइन । समस्याको समाधान भनेको खोजेर पत्ता लगाउने हो, समस्याका कारण पत्ता लगाउनुपर्छ’, उनले भने । पूर्वराजा शाहले विभिन्न चाडपर्वका अवसरमा शुभकामनासँगै सन्देश पनि दिँदै आएका छन् ।