अमेरीकामा आज राष्ट्रपति निर्बाचन


काठमाडौ । निक्कै महत्वकासाथ बिश्वले हरीरहेको अमेरिकाको ४६ औँ राष्ट्रपतिको निर्बाचन आज सुरु भएको छ । नोभेम्बर ३ अर्थात आज, अमेरिकाको ४६ औँ राष्ट्रपतिका लागि निर्वाचन हुँदै छ । निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड जे ट्रम्प दोस्रो कार्यकालका लागि र पूर्वउपराष्ट्रपति जोजेफ आर बाइडेनबीच चुनावी भिडन्त हुँदैछ । अमेरिकी राजनीतिका विश्लेषकहरुले यो निर्वाचन राष्ट्रपति ट्रम्पका लागि निर्वाचन भन्दा बढी जनमत संग्रहको रूपमा रहेको बताउँदै आएका छन । रिपब्लिकन पार्टीको पर्यायवाचीजस्तै देखिएका ट्रम्पको आप्रवासी मुद्दामा अनुदार छवि बनेको भए पनि ‘अमेरिका पहिलो’ भन्दै आर्थिक विश्वव्यापीकरणभन्दा फरक धारको वकालत गरेकाले उनको लोकप्रियता अनुदारवादी कन्जर्भेटिभ्स अमेरिकी नागरिक माझ उस्तै छ । राजनीतिक विश्लेषकहरुले यो निर्वाचनलाई पछिल्लो शताब्दीकै सबैभन्दा महत्वपूर्ण निर्वाचनको रूपमा विश्लेषण गरिरहेका छन । उनिहरुका अनुसार निर्वाचनमा कम शिक्षित, पाका तथा ग्रामीण अमेरिकी मतदाताको ठूलो हिस्सा फेरि पनि राष्ट्रपति ट्रम्पकै पक्षमा देखिन्छ भने युवा, शिक्षित, तथा सहरी अमेरिकी जनता बाइडेनको पक्षमा छन । अमेरिकी जनताले ट्रम्पलाई पुनः राष्ट्रपतिमा निर्वाचित गर्ने हुन वा बाइडेनलाई साँचो सुम्पिने हुन त्यो हेर्नभने केहि दिन कुर्नुपर्ने देखिन्छ । यद्यपि निर्वाचनका लागि तोकिएको मतदान दिवस नोभेम्बर ३ अघि नै अर्थात नोभेम्बर २ हिजो सम्म ९ करोड ३५ लाख मतदाताले अग्रिम मतदान गरिसकेका छन । जसमा

‘युएस टुडे’ का अनुसार अग्रिम मतदानको ४८ दशमलव ३ प्रतिशत डेमोक्र्याटिक, ४१ दशमलव ५ प्रतिशत रिपब्लिकन र १० दशमलव २ प्रतिशत मत स्वतन्त्रको पक्षमा खसेको छ । यसर्थ पनि कसले बाजि मार्ने हो भन्ने अहिले यकिन नभएको बिश्लेषकहरुको भनाई छ ।

2019 को नोबेल शान्ति पुरस्कार इथोपियाका प्रधानमन्त्रीलाई दिने घोषणा


नर्वेजियन नोबेल कमिटीले यस वर्षको नोबेल शान्ति पुरस्कार इथोपियाका प्रधानमन्त्री अबे अहमेद अलीलाई दिने घोषणा गरिएको छ ।

अन्तर्राष्ट्रिय सहकार्य, शान्ति स्थापना र इरिट्रियासँगको २० वर्ष लामो सीमा विवाद समाधानमा महत्वपूर्ण भूमिका खेलेको भन्दै उनलाई यस वर्षको नोबेल शान्ति पुरस्कार दिने घोषणा गरिएको जनाइएको छ ।

उनी सन् २०१८ अप्रिल २ मा प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । उनी पूर्व सैनिक गुप्तचर अधिकारीसमेत थिए ।

लादेनका छोरा हाम्जाका बारेमा सूचना दिनेलाई १० लाख अमेरिकी डलर पुरस्कार दिने


वासिङ्टन, १७ फागुन – अल–कायदका संस्थापक ओसामा बिन लादेनका छोरा हाम्जाका बारेमा सूचना दिने व्यक्तिलाई १० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा संयुक्तराज्य अमेरिकाले गरेको छ । अमेरिकाले लादेनका छोरा हाम्जा बिन लादेन आतङ्कवादी कृयाकलापमा संलग्न रहेको दाबी गरेको छ । उनि “जिहादका युवराज” भनेर पनि चिनिन्छन ।

उनि हाम्जा पाकिस्तान, अफगानिस्तान, सिरिया वा इरानमध्ये एक देशमा लुकेर बसेको अमेरिकाले अनुमान गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा अनुसार “हाम्जा अहिले अल–कायदा समूहका नेताका रुपमा स्थापित हुन थालेको देखिएको छ,”

हाल हाम्जा रहेको मुलुकको नाम र ठेगाना दिएमा त्यस्तो सूचना दिने व्यक्तिलाई अमेरिकाले १० लाख पुरस्कार दिने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

३० वर्षीय हाम्जाले आफ्नो बुबाकोे हत्याको बदला लिने बताउँदै आएका छन । हाम्जाका बुबा ओसामा बिन लादेनको सन् २०११ मा अमेरिकी विशेष फौजले पाकिस्तानी शहर अबोटाबादमा हत्या गरेको थियो ।

अमेरिकी गुप्तचर निकायहरुले हाम्जामाथि निगरानी बढाएको र अमेरिकाका निम्ति सुरक्षा खतरा रहेको बताएका छन् ।

हाम्जाले सन् २०१५ मा एक अडियो सन्देश जारी गरी सिरियाका जिहादीहरुलाई एकताबद्ध हुन आग्रह गरेका थिए । आफ्ना पिताले झैं हाम्जाले पनि साउदी अरेबीयाको नेतृत्व अपदस्थ गर्नुपर्ने बताउँदै आएका छन् ।

ओसामा बिन लादेनका तीन श्रीमती र छोराछोरीलाई साउदी अरेबियामा आश्रय दिइएको छ । तर हाम्जाका बारेमा थाहा हुन सकेको छैन ।

दक्षिण कोरियालीको साप्ताहिक कार्य समय घट्यो


दक्षिण कोरियालीको साप्ताहिक कार्य समय सन् २०१७ मा अघिल्लो वर्षको तुलनामा केही घटेको शुक्रबार सार्वजनिक सरकारी तथ्यांकले देखाएको छ । कोरियालीहरुले काम र निजी जीवनबीच सन्तुलन खोज्न थालेको विश्लेषण गरिएको छ ।

कोरिया तथ्यांक विभागका अनुसार दक्षिण कोरियाली पुरुष र महिलाले सन् २०१७ मा प्रति हप्ता औसतमा ४२ दशमलब ८ घण्टा काम गरेका छन् । सन् २०१६ मा प्रति हप्ता ४३ घण्टा थियो ।
दक्षिण कोरियालीको प्रति हप्ता कार्य समय सन् १९९० देखि निरन्तर घट्दै आएको पाइएको छ । सन् १९९० मा कोरियालीको प्रति हप्ता कार्य समय ५३ दशमलब ८ घण्टा थियो । तथापी, दक्षिण कोरियालीको कार्य समय अरु मुलुकको दाँजोमा अझै पनि बढी छ ।

तथ्यांक विभागका अनुसार, सन् २०१६ मा दक्षिण कोरियालीले औसतमा वार्षिक दुई हजार ५२ घण्टा काम गरेका छन् । आर्थिक सहयोग तथा विकास संगठनमा आबद्ध ३६ औद्योगिक मुलुकमध्ये २९ राष्ट्रको वार्षिक कार्य घण्टा गणना गर्दा कोरियाको यो कार्य घण्टा तेस्रो सबैभन्दा बढी हो । जुलाईमा दक्षिण कोरियाले प्रति हप्ता कार्य समयमा संशोधन गरी ६८ घण्टाबाट घटाएर ५२ घण्टामा ल्याएको थियो ।

यसैबीच दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इनले आफ्नो कार्यकाल तीन वर्ष पुग्नै लाग्दा मन्त्रिपरिषदमा शुक्रबार हेरफेर गरेका छन् । उनले दुई जना उप वित्तमन्त्रीसहित १६ जना नयाँ उपमन्त्रीहरु नियुक्त गरेका छन् ।

खशोग्जीको हत्याको टेपन ट्रम्पले नसुन्ने


(एजेन्सी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी पत्रकार जमाल खशोग्जीको हत्याको श्रव्य टेप आफूले नसुन्ने बताएका छन् । त्यो श्रव्य सामग्री निकै ‘पीडादायी र हिंसात्मक’ भएको भन्दै उनले सुन्न नसकेको बताएका हुन् ।

साउदी अरेबिया सरकारका कटु आलोचक अमेरिकी पत्रिका ‘द वासिंगटन पोष्ट’का स्तम्भ लेखक खशोग्जीको गत २ अक्टोबरमा टर्कीको इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा हत्या भएको थियो ।

टेप पीडादायी र हिंसात्मक भएको उक्त टेपको पूरा विवरण आफूलाई प्राप्त भएको ट्रम्पले अमेरिकी टेलिभिजन ‘फक्स न्यूज’लाई दिएको एक अन्तर्वार्तामा बताएक छन् । प्रत्यक्ष रुपमा सो टेप नसुने तापनि आफूलाई पूरा विवरण प्राप्त भएको उनले बताएका छन् ।
आगामी दुई दिनमा ट्रम्प प्रशासनले पूरा प्रतिवेदन दिने अर्थात् हत्यामा कसैको प्रत्यक्ष सहभागिता रहेको सो प्रष्ट गरिने ट्रम्पले शनिबार बताएका थिए । अहिलेसम्म अप्रष्ट समाचारहरु प्राप्त गरेको पनि उनले बताएका छन् ।

साउदी पत्रकार खशोग्जीको हत्याको विषयमा अमेरिकी अनुसन्धानका विवरणहरू बाहिर आइरहेका छन् । अमेरिकी गुप्तचर निकाय सिआईएको निष्कर्षमा पत्रकार खशोग्जीको हत्या गर्ने निर्देशन साउदी युवराज मोहम्मद बिन सलमान आफैँले दिएका थिए भन्ने विवरण बाहिर आइसकेको छ ।

तर, ट्रम्पले ती विवरणहरू अपुष्ट भएको बताउँदै आफ्नो देशको एक प्रमुख मित्र साउदी अरेबियालाई गुमाउने पक्षमा नरहेको स्पष्ट गरे । साउदी अरेबियाले खशोग्जीको हत्यामा आफ्ना युवराजको कुनै भूमिका नरहेको बताउँदै आएको छ ।

खशोग्जी एक चर्चित पत्रकार थिए । उनले अफगानिस्तानमा सोभियत संघको अतिक्रमणदेखि ओसामा बिन लादेनको उदयसम्मका विषयमा कैयौँ साउदी समाचार संस्थाका लागि समाचार लेखेका थिए । गत वर्ष उनी अमेरिकामा निर्वासनमा गएका थिए ।