लोभले लाभ, लाभले विलाप


निर्वाचन अघिको पाँच दलीय गठबन्धन अन्तर्गत कांग्रेस नेतृत्वमा बनेको गठबन्धन नाटकीय रुपमा भत्किएर नयाँ गठबन्धन बनेको छ । त्यो गठबन्धनको दोश्रो ठुलो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार समेत बनेको छ । जसमा मुलुककै सर्वाधिक लोकप्रिय पार्टी र संसद्मा दोश्रो दल बनेको एमाले, राष्ट्रिय स्वतन्त्र, राप्रपा, जसपा, जनमत, नागरिक उन्मुक्ति र अन्य स्वतन्त्र सांसदहरु रहेका छन । त्यसमा पनि एमाले, माओवादी, रास्वपा र जनमत पार्टी त सरकारमै सामेल भैसकेका छन । यो सरकार कांग्रेसको अहंकार, प्रचण्डको बाध्यता र एमालेको सुझबुझ पुर्ण कार्यले बनेको हो । भलै यो सरकार निमार्ण अपत्यारिलो ढंगले बनेको छ, हिजो सबै भन्दा बढि तिक्तता रहेका पार्टी र त्यसको प्रमुख नेताहरूको सुझबुझ र मिलनले बनेको छ । यो राम्रै संकेत हो तर यसले थुप्रै प्रश्नहरू पनि उब्जाएको छ ।


त्यो के भने हिजो एमालेका अध्यक्ष केपी ओलीलाई प्रतिगमनकारी किन भनियो ? त्यो बेला संसद विघटन गर्नु प्रतिगमनकारी काम थियो भने अहिले त्यो कसरी सच्चियो ? बिनाकारण अहंकार र दम्भले मुलुककै सर्वाधिक ठुलो पार्टी नेकपालाई विघटन गर्नेदेखि दुईतिहाइ नजिकको सरकार ढालेर कांग्रेसलाई सत्ता सुम्पिँदै कम्युनिष्ट आन्दोलन नै कमजोर पार्ने काम किन गरियो ? अहिले त्यो कसरी एकाएक सच्चियो ? यसमा के कसका कस्ता स्वार्थहरू लुकेका छन ? नीति बिचार नभएका, मुलुकको लोकतन्त्र र संघीयतामै प्रश्न उठाई रहेका पार्टी र व्यक्तिसँग गठजोड गरेर बनेको सरकार कहिले सम्म टिक्ला ? यसले राजनीतिक स्थायित्व देला ? जस्ता प्रश्नहरू खासगरी नेकपा एमाओवादी पार्टी सामु उठेका छन । यसको उत्तर अध्यक्ष प्रचण्डले दिनुहोला वा यो प्रश्नको उत्तर दिन एमाले अध्यक्ष ओलीले सघाउनु होला । तर पूर्व नेकपाका नेताहरूका हिजोका जुन गतिविधि थिए ति बेठिक थिए भन्ने कुराको जस्टिफाई भने भएको छ । साथै अर्को कुरा राजनीतिमा असम्भव भन्ने केही कुरा हुँदैन रहेछ भन्ने पनि देखिएको छ ।


तर सुखद के भएको छ भने वाम पार्टीबीच कोर्ष करेक्सन भएको छ । गएको स्थानीय निर्वाचन पश्चात चर्चामा आएको र नेताहरूले सुरुवात गर्न खोजेको वाम केन्द्र निर्माणको बाटो खुलेको छ । कांग्रेसलाई मात्र फाइदा हुने गठबन्धन टुटेको छ । कम्युनिष्ट पार्टीका नेताबीचको तिक्तता समाप्त भएको छ । वाम पार्टी एकीकरणका बाटाहरु खुलेका छन । यसले कम्युनिष्ट आन्दोलन थप बलियो हुने आसा पलाएको छ । कांग्रेसको हातबाट सत्ताको चावी थुतेर वामको हातमा आएको छ । यससँगै कांग्रेसको बेथितिको अन्त्य भएको छ भने वाम सरकारको नेतृत्वमा मुलुकको विकास निर्माणले गति लेला कि भन्ने आशा पलाएको छ । यो अर्को खुसिको कुरा हो । तर अझै सरकारकालागि थप्रै चुनौतीहरु छन । जनतामा थुप्रै निरासाहरु छन । अर्थतन्त्र डमाडोल छ, बैंकले कर्जा दिन छाडेको छ । संघीय लोकतन्त्र र धर्म निरिपेक्षताको वकालत गर्नेदेखि जातिय क्षेत्रिय राज्यको वकालत गर्ने पार्टीसम्म यो गठबन्धनमा सामेल छन । यसलाई टिकाउन बहुतै गाह्रो छ । तथापि अबसरहरु पनि छन । यिनै चुनौतीबाट अवसर खोज्दै मुलुक र जनताको हितमा काम गर्नुको विकल्प यो सरकारसँग छैन । खासगरी कम्युनिष्ट पार्टीका नेताहरुसँग छैन । त्यसमा वाम सरकार सफल होस हाम्रो शुभकामना ।

लगाम लगाउने चाहिँ कसले ?


इमानको राजनीति गर्नेहरू काउसो बन्ने अनि बदनाम उद्योगी, व्यापारी, ठेकदारलाई सांसद बनाउने चालबाजी फेरि पनि सुरु भएको छ । सकेसम्म समानुपातिक सूचीको पहिलो नम्बरमै तिनका नाम सिफारिस गरेर होस वा प्रत्यक्षतर्फ समेत कतै न एकल सिफारिस गरेर व्यापारी, ठेकदार तथा म्यानपावर चलाउने दलालहरूलाई बोक्ने सिलसिला यसपटक पनि देखिएको छ । यस अघि एमालेबाट सांसद बनेका विनोद चौधरी दैलो चाहर्दै अहिले काँग्रेसका सांसद छन् ।

कतिपय नीति नियम उनकै इन्ट्रेस्टमा बनेको समेत देखिएकै छ । कतिसम्म भने यस आर्थिक वर्षको बजेट निर्माण प्रकृयामा समेत चौधरी समूहकै संलग्नताको विषयले चर्चा र परिचर्चा पायो । यस अघि काँग्रेसी कोटाबाट सांसद बनेका उमेश श्रेष्ठ अहिले पनि राज्यमन्त्रीको भूमिकामा छन् । ओलीको क्याबिनेटमा उसैगरी मोतीलाल दुगड सकृय थिए । आगामी ४ मंसिरमा हुन लागेको निर्वाचनमा समेत उनै विनोद चौधरी, उमेश श्रेष्ठ, सुनिल शर्मा, अनिल रुङ्गटाहरू सिफारिस भएका छन् । यस्तै गरी अल्फाविटाका मालिक दधिराज शर्मादेखि सेञ्चुरी मसलाको मालिक मोतिलाल दुगडसम्म र दुर्गा प्रसाईं, बसरुद्दिन अन्सारी एमालेको कोटाबाट चुनाव लड्ने व्यापारीको सूचीमा छन् ।

यस्तै ४ मंसिरमा हुने निर्वाचनका लागि म्यानपावर व्यवसायी किरणकिशोर घिमिरे, दल परिवर्तन गरेर काँग्रेसी बनेका बलबहादुर तामाङ, राजदूत पत्नी विमलप्रसाद ढकाल, धनलाल जैसी, मित्रदेव घिमिरे, चित्रगुप्त साँवा, ऋषिप्रसाद शर्मादेखि अनिल बोगटी, एलपी साँवादेखि पूर्व मन्त्री समेत रहेका टेकबहादुर गुरुङसमेतको नाम सिफारिस भइसकेको छ । यसका अलावा केही ठेकदारहरू निर्विरोध सिफारिस भएका छन् । जसमा छन्, जनार्दन ढकाल, मोहन आचार्यहरू । यता गुल्मी २ बाट माओवादीले भ्रष्टाचार मुद्दामा डामिएका भिमकान्त भण्डारीको नाम सिफारिस गरेको छ । विथ ल्याबका संचालक रहेका भण्डारीलाई अख्तियारले गत असार ३ मा अकुत आर्जनमा मुद्दा दायर गरेको थियो । उनीविरुद्ध साढे ६ करोड अकुत आर्जनको मुद्दा दायर भएको छ विशेष अदालतमा ।

राजनीतिक दलहरूले किन उम्मेदवारै नपाएर हो भ्रष्ट, अनियमितताको आरोप लागेका देखि व्यापारी र उद्योगीलाई च्याप्ने भए पछि तिनै पछि राज्य सञ्चालन गर्ने ठाउँमा पुग्ने र आफू अनुकुलको नीति निर्माण गर्ने हुँदा यस्तो विषयलाई नियन्त्रण गर्न निर्वाचन आयोग चनाखो बन्नुपर्ने होइन । त्यही अनुसारको नियम वनाइनुपर्ने हो ? एउटा सार्वभौम संवैद्यानिक निकाय यो बिषयमा किन कमजोर बन्न पुग्यो ?

तीजको आधुनिकता


चाडपर्व हाम्रा जीवन जीउने सांस्कृतिक आधार पक्ष हुन । यि नै फरक फरक चाडबाडको प्रतिक्षा गर्दै, मनाउँदै सबै भेला भएर आ आफ्नो ढंगले रमाउँदै जीवन बितिरहेको हुन्छ । यहि सन्दर्भमा नेपाली महिलाहरूको महत्वपूर्ण आस्था र विश्वासको महानचाड तीज आएको छ र यो चाड निक्कै धुमधामकासाथ मनाइरहेका छन सबैले । यो राम्रो पक्ष हो । तीजलाई अति आस्था र विश्वासकासाथ ‘नारीहरूले आफ्नो, आफ्नो परिवारको समृद्धि र श्रीमानको सुन्दर र दीर्घ जीवनको आधार पर्वको रुपमा मनाउँदै आएका छन । बिभिन्न किम्वदन्ती अनुसार पार्वतीले महादेव स्वामी पाऊँ भनी कठोर तपस्या गरि महादेवसँग उनको विवाह भएको कुरा शिव पुराणमा उल्लेख गरिएको छ ।


त्यसैगरी अर्को किम्वदन्ती अनुसार पार्वतीको विवाह विष्णुसँग हुन लागेको अवस्थामा महादेवसँग होस् भन्ने पार्वतीको चाहना पुरा गर्न उनका साथीहरूले उनलाई जंगलमा लुकाएर राखेको, लुकेर बस्दा पार्वतीले जंगलमा खाएको कुरा अहिले दर भनी खाने गरिएको, जंगलमै पार्वतीले शिव पाउन बर्त गरेको शिव खुसी भएर दर्शन दिई पार्वती र शिवको बिहे भई शिवजी समेत नाचेकाले आफ्नो चाहना पुरा हुने चाड वर्तको रुपमा यस दिनलाई नेपाली चेलीहरूले व्रत र नाचगान गरि मनाउन थालेका भन्ने भनाइ छ ।


पार्वतीले व्रत बसेर उनको मनोकामना पूर्ण भएकाले अरू महिला पनि आआफ्ना मनोकामना सहित अविवाहित नारीले असल पति पाऊँ भनी र विवाहित नारीले पतिको दीर्घ जीवनकोलागि व्रत बस्न थालेको जनश्रुति पनि छ । तीजमा हाम्रा महिलाले बस्ने व्रतलाई सबैले सकारात्मक रूपमा लिएका छन । किम्वदन्ती र धार्मिक परम्परा जे होस यो चाड पर्वले नेपाली नारीहरूलाई आनन्दसाथ रमाइलो गर्ने र आफन्तसँग भेटघाट गर्ने अवसर जुटाएको छ । अर्को वर्षदिनसम्म मेलापात, घाँस दाउरा गर्दै सुखदुखका दिन गुजारिरहेका आफन्तसँग भेट्न नपाएका नारीले आफ्ना कथा, व्यथा र सामाजिक विकृति एवं विसंगति तिजको अवसर पारेर गीतका रूपमा प्रस्तुत गर्ने गरेका र आफन्तसँग भेट्न पाएका छन । यो राम्रो पक्ष हो तर पछिल्लो समय यसलाई पश्चिमा संस्कृतिले छोप्दै लगेको, विकृति बनाउँदै लान थालेको महिनौँ अगाडिदेखि तीज मनाउने नाममा खर्चिलो, भड्किलो, आडम्बर देखाउने असांस्कृतिक र देखासिकिको चाड बनाउँदै लान थालेको, त्यसले कमजोर आय भएकालाई मारमा पारिरहेको छ । त्यतिमात्रै होइन वर्त र उपवासका नाममा गरिने एकोहोरो पनाले, विरामी हुने व्रत बस्ने दिनभन्दा अघिल्लो दिनको मध्यरातमा दरका रूपमा अपाच्य खाना खाने कुराले कतिपयलाई समस्यामा पनि पारिरहेको छ ।


त्यतिमात्र होइन यो चाडमा मदिराजन्य पदार्थ र मासुको अधिक सेवनले एक त खर्चिलो अर्को त विकृति बनिरहेको छ । यसर्थ हामीले मान्दै आएको परम्परागत तीजको विरासतलाई आधुनिक तीजले छोपिदिएको छ । त्यतिमात्रै होइन सहर बजारमा महिना दिन अगाडिबाट हुने भडकिला तथा उत्ताउला पहिरनसहित लाखौँ खर्चेर दिनहुँजसो पार्टी प्यालेसमा पश्चिमा बाजा बजाएर हुने भोज भतेर,अनावश्यक र अस्वाभाविक शृंगारपटारजस्ता कुराले तिज महिलाको महान् चाड हो भन्ने कुरालाई बिर्साइदिन खोजेको छ । यो खराब पक्ष हो । किनकि हुने खानेहरूलाई त यसले राम्रै गरेको होला तर, हुँदा खानेलाई भने यो अनावश्यक तडकभडक र देखासिकीले नकारात्मक असर पारेको छ । पहिले पहिलेका चाडपर्वहरू खर्चिला थिएनन् । यी चाडपर्वहरूमा हुने र नहुनेबीचको अन्तर कम थियो । महिला र पुरुषले मनाउने छुटाछुटै महत्व र विषेता बोकेका चाड पर्व थिए । तर, आज ति हटेका छन, पश्चिमा संस्कृति र अस्लिलतामा बदलिन खोजिरहेका छन । यो दुःख लाग्दो विषय हो । यसमा सुधार हुनुपर्छ, सबैको विवेक पुग्नुपर्छ ।

नेता हो ! भ्रष्टाचार कसरी रोक्छौ ?


जनताले ७० वर्ष लडेर, थुप्रै सहिद भएर, थुप्रै अपाङ्ग र घरबार विहीन भएर आज भन्दा १६ वर्ष अगाडि मुलुकमा नयाँ संविधान सहितको संघीय लोकतान्त्रिक गणतन्त्र ल्याए । यसको कार्यान्वयन भएर तीन तहको स्थानीय, प्रदेश र केन्द्रिय सरकार चलिरहेको छ । राजनीतिक परिवर्तन, लोकतान्त्रिक शासन प्रणाली र आफ्नो हितका लागि जनताको साथ र सहयोग राजनीतिक दलका नेताहरूलाई प्राप्त भयो पनि । यसमा जनताको आशा थियो गणतन्त्र आएपछि मुलुकमा राजनीतिक स्थायित्व हुन्छ, नेताहरू असल बन्छन, सत्तामा जनताका असल नेता पुग्छन् र त्यसका आधारमा सुशासन आउँछ, भ्रष्ट्राचारको अन्त्य हुन्छ, मुलुक समृद्ध बन्छ, त्यसो भएपछि आफ्नो पनि सुखको दिन आउँछ भन्ने थियो ।

जनताको चाहना बुझेर पनि बुझ पचाएका नेताहरूले सुखी नेपाली बनाउने उधारो सपना पनि बाँडे । तर, ति मुर्छित सपनाहरू कहिल्यै विपना बनेनन् । यति लामो समय बित्दा पनि त्यसको कुनै छनक जनताले पाएनन् । बरु उल्टै उनीहरु सत्तामा पुगेपछि सबै कुरा विर्सिएर जनतालाई अपहेला गरे । अहिले जनता मारमा छन्, भ्रष्टाचार व्याप्त छ, महँगीले चरम रूप लिएको छ, सामान्य र गरीब जनतालाई जीवन चलाउन धौ धौ छ । उता आफ्नो ज्यान बाजी लगाएर सत्तामा पुर्याएका नेताहरू भने नवधनाढ्य बनेका छन्, आलिसान महलमा विलासिताको जवन बिताई रहेका छन्, पद र पैसाले अहंकारी र घमण्डी बनिरहेका छन्, सत्ता र स्वार्थकालागी पार्टी विभाजन गर्ने नैतिक आचरण विपरितका काम गर्ने, जनतालाई हेला गर्ने, आफ्ना आसेपासे र आफन्तलाई मात्र कमाउने निकायमा पुर्याउने र जनतालाई वेवास्ता गर्ने गरिरहेका छन ।

त्यतिमात्र होइन पछिल्लो समय स्थानीय सरकार र प्रदेश सरकार पुरै बेथितिको आहालमा डुबेको छ, ऐन, नियमको खिल्ली उडाउँदै अर्ब भ्रष्टाचार गरेका छन्, जताततै भ्रष्टाचार बढेको छ, राष्ट्रको ढुकुटी मात्रै सिध्याएको छ र मुलुकलाई आर्थिक संकट तर्फ धकेलिरहेको छ । यसले सबै कुरा बिग्रिएको छ, जनता वाक्क भएका छन । सत्ता बाहिर हुँदा सब थोक गर्छु भन्दिने सत्तामा पुगे पछि केही नगरी भ्रष्टाचार मात्र गर्ने र सम्पत्ति मात्र जोडने । यसले मुलुक आज आर्थिक सङ्कटदेखि राजनीति संकटमा परेको छ, समृद्ध बन्न सकेको छैन, जनता सुखी बन्न सकिरहेका छैनन् । अहिले कम्युनिष्ट पार्टीहरु सहितको पाँचदलीय गठबन्धन सरकार चलिरहेको छ । जस्को नेतृत्व काँग्रेस सभापति शेरबहादुर दउवाले गरीरहनुभएको छ । यसको उद्धेश्य भ्रष्ट्राचारको अन्त्य र शुसासनको आरम्भ हो । तर यो सरकार यसको ठिक उल्टो दिशातर्फ अगाडि बढिरहेको छ, भ्रष्टाचार र बेथिति तर्फ अगाडि बढिरहेको छ, भ्रष्टाचार नियन्त्रण गर्ने निकायको प्रमुख पदमा नेताले आफ्नै मान्छेहरुमात्र नियुक्ति गरेका छन ।

उनीहरुले जनताकोलागि हैन आफुलाई लाभ दिने नेताको हितमा मात्र काम गरिरहेका छन । जसले गर्दा लोकतान्त्रिक संस्थाहरूको संस्थागत विकास हुन सकेको छैन । कानुनी समानता हुन सकेको छैन, नीतिगत भ्रष्टाचार बढेको छ, जनताको हित र राष्ट्रिय स्वाधिनताको रक्षा गर्ने असल नेता जनताले पाउन सकेका छैनन् । यो लोकतन्त्रकालागि दुर्भाग्यपूर्ण अवस्था हो । अहिले राष्ट्रिय ढुकुटीको अत्यधिक दोहन गरि १२ अर्ब भन्दा बढि भ्रष्टाचार त स्थानीय पालिकाहरुमा ऐन, नियम मिचेर राजनीतिक दलका जनप्रतिनिधिहरुले गरेको प्रतिवेदन मलेपले हालै सार्बजनिक गरेको छ ।

प्रदेश सरकारको अबस्था त्यस्तै छ, केन्द्रमा त्यस्तै छ, घुष नखाई जनताको केही काम नहुने भएको छ । घुष पनि कर्मचारीलाई ढाल बनाएर जनप्रतिनिधिहरुले नै खुलेआम खाईरहेका छन । यसले जनतालाई आक्रोसित र निराश त बनाएको छ नै प्रणालीलाई नै बद्नाम र संकट उम्मुख बनाएको छ । यसको अन्त्यको लागि प्रमुख दलका प्रमुख नेताले तत्काल ध्यान पुर्याउनु जरुरी छ, आफु, आफ्ना नेता, कार्यकर्ता र लुटनकालागि पदमा पुर्याईएका आफन्तलाई सुधार्नु जरुरी छ ।

आक्रोश पैदा हुने अवस्था नहोस्


नेपाली जनताले आफ्नो सुख र खुसीको लागि पटक पटक आन्दोलन गरे तर अहिले सम्म चाहे जति सुखी र खुसी हुन सकेका छैनन् । बरु झन समस्यामा पर्दै गएका छन्, झन गरीब बन्दै गएकाछन् आफ्ना चाहना मारेर बसेका छन । यसको अन्त्य गर्न अहिले सम्म कुनै पार्टी र सरकारले सकेका छैन । जनताले आफ्नो हितको लागि भनेर हालै स्थानीय सरकार बनाए तर ती सरकारहरूले काम नथाल्दै मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण स्थितिमा पुगेको छ, दिन दिनै मूल्य वृद्धि भैरहेको छ, महँगीले आकास छोएको छ, राष्ट्रिय अर्थतन्त्र कमजोर बनेको छ । यसैले गर्दा अहिले कम आय भएका र विपन्न नेपाली जनता निक्कै ठुलो समस्यामा परेका छन्, भोक भोकै बस्नुपर्ने अवस्थामा पुग्न लागेका छन । स्थानीय तहको निर्वाचनमा राजनीतिक दलका नेताले जे भनेका थिए त्यसको विपरित भैरहेको छ । यसले सर्वसाधारण जनतामा निराशा मात्र पैदा गरेको छैन, सरकारप्रति आक्रोश समेत बढाउँदै लान थालेको छ । आफ्नो लागि केही होला कि भनेर जनताले आशा गरेका बेला जनताको त्यो आशा र अपेक्षा पुरा गर्नुको सट्टा पार्टीहरू जितको संख्या गन्न थालेका छन्, हारको कारण खोजी रहेका छन्, गठबन्धन भित्र र आफ्नै पार्टीको अन्तर्घातको सन्दर्भमा समीक्षा गरिरहेका छन । त्यतिमात्रै होइन जनताको जीवनस्तर कष्टकर भैरहेका बेला आउने संसदीय र प्रदेश स्तरीय निर्वाचनमा के कसरी जाने, को कससँग गठबन्धन गर्ने बढि भन्दा बढि सिट जितेर सत्तामा कसरी जाने भन्ने जोड घटाउ हुन थालेको छ । यो जनताका लागि सुरुवाती असान्दर्भिक कुरा हो ।


अर्को कुरा अहिले नीति ,सिदान्त,मूल्य,मान्यता विपरित निहित स्वार्थका लागि अप्राकृतिक काम गर्ने, अप्राकृतिक गठबन्धन गर्ने, फुट्ने, फुटाउने, जुट्ने, जुटाउने र जसरी हुन्छ सत्तामा पुगेर मोज मस्ती गर्ने कार्यमा बढोत्तरी भएको छ । यो बढ्ता गरेर कम्युनिष्ट पार्टीहरूमा मौलाएको छ, जुन घिनलाग्दो काम हो । यसले कम्युनिष्ट आन्दोलन मात्रै होइन देशको विकासमा समेत अवरोध गरी रहेको छ । जुन काम यो हदसम्मले भएको कहिल्यै देखिएको थिएन । कम्युनिष्टहरूको अर्को रोग विषय बस्तुलाई आफू अनुकुल ब्याख्या गर्ने र सिद्धान्तको जलप लगाइदिने । हिजो नेकपा माले, एमाले हुँदै नेकपा बनाउँदा यस्तै भएको थियो । आफुलाई हित हुने भयो जोडिने नभए अपब्याख्या र गालि गलौज गरेर फुट्ने । यस्तो काम कम्युनिष्ट पार्टीकै नेताहरुले बढि गरिरहेका छन । यसले जनता आजित र आक्रोसित भएका छन । मुलुक संघीय संरचनामा गइसकेकाले दलहरूले सन्तुलित विकासकालागि कस्तो नीति तयार पारे, स्रोत परिचालन÷संकलन कसरी गरे,दिगो विकास र सुशासनकालागि के गरें, आफ्ना प्रतिबद्धताहरु कति पुरा गरे, न्याय र समानताकालागि के गरे, उपलब्धि कस्तो गरे आउने संसदीय निर्वाचनकोलागि दलहरुलाई मत दिने आधार र मापन यिनै हुन । अहिले प्रायः सबै दलका नेताहरूले पञ्चायत कालिन कार्यशैली अपनाई रहेका छन । जसकारण इतिहासको क्रान्तिकारी गर्भबाट पैदा भएका कम्युनिष्ट पार्टी चेप्टिँदै–चेप्टिँदै गएर खिई रहेका छन्, र चोईटिनुलाई शत्ति आर्जन भनिरहेका छन । यो अर्को दुखद विषय हो ।


त्यसैगरी सत्ता प्राप्तिकालागि दलका नेताहरुले कार्यकर्ता भित्र्याउने क्रममा विचारधारा,नैतिक मूल्य, मान्यता,इमान्दारीता र गुणलाई हेरेका छैनन् । खालि हुललाई मात्रै हरीरहेका छन । यसले भोली के कस्ता विकृति खडा गर्ने हो यो आँकलन अहिलेका कुनै नेताले गरेका छैनन् । यो झन विडम्बनाको विषय हो । किनकी राजनीति आन्दोलन र सत्ता भोग बेग्लै कुरा हो । राजनीति जब लाभ हानी हेरेर हुन्छ त्यहाँ बेथिती भै हाल्छ । अहिले नेपालको राजनीतिमा भैरहेको यही हो । आन्दोलनकारी शक्ति जब सत्तामा तर मार्न तम्सिन्छ, त्यतिखेर देश र जनताको हित र स्वार्थ वर्जित हुन्छ । आजको हाम्रो राजनीतिक यथार्थ यहि हो । यसको अन्त्य नभए सम्म मुलुक र जनताले सुख पाउँदैनन् । फेरी संसदीय र प्रदेश निर्वाचन नजिकिँदै छ । चुनावको महत्वपूर्ण नारा विकाश र समृद्धि नै हो तर कम्युनिष्ट पार्टीहरुलाई तितरवितर बनाईएका वेला देश विकासको यात्रा पुरा गर्ने सच्चा कम्युनिष्ट पार्टी अहिलेको आवश्यकता हो । यो महत्वपूर्ण आवश्यकताको कम्युनिष्ट पार्टीका नेताहरुको प्रमुख एजेण्डा बन्नुपर्छ । कम्युनिष्ट आन्दोलनलाई क्षत विक्षेत पारेर आफ्नो अभिष्ट पुरा गर्न खोज्ने देशी विदेशी प्रतिकृयाबादी शक्तिको पराजय नै यो महान महान यात्राको शुरुवात हो । यसमा कम्युनिष्ट पार्टीका सबै नेताहरुले ध्यान दिनुपर्छ ।