आफ्ना क्रिएशनमार्फत नेपाली फेसन क्षेत्रमा अव्वल रूपमा स्थापित नाम हो इनु थापा । उहाँले यो क्षेत्रमा फेसन डिजाइनरका रूपमा आफ्ना नयाँ नयाँ क्रिएशन पस्किँदै आउनुभएको छ । उहाँ सन् २०१२ देखि लगातार मिस टिन नेपालका लागि पनि डिजाइन गर्दै आइरहनु भएको छ, जुन प्रतियोगिता काठमाडौं जेसिसले गर्ने गर्छ । यस्तै, नेपालमा हुने अन्य प्रतियोगितामा पनि उहाँका डिजाइन प्रस्तुत हुने गर्दछन् । इनु फेसन क्षेत्रमा जति लोकप्रिय हुनुहुन्छ, समाजसेवमा पनि अग्रणी रूपमा आफूलाई स्थापित गर्नुभएको छ उहाँले । त्यस्तै, उहाँ फेसनसम्बन्धी प्रतियोगिताको निर्णायकका रूपमा पनि देखिनुहुन्छ । इनुका क्रिएशनले सर्वत्र चर्चा बटुलिरहँदा उहाँलाई थुप्रै पुरस्कार र सम्मान पनि प्राप्त भएका छन् । नेपालको फेसन क्षेत्रलाई थप उचाइ प्रदान गर्नुभएकी इनुसँग छलफलका लागि टीबी विरहीले गरेको कुराकानीको संक्षिप्त अंशः–
यहाँ लामो समयदेखि यो क्षेत्रमा रहेर आफ्ना क्रिएशनमार्फत वाहवाही बटुल्न सफल हुनुहुन्छ, कस्तो छ फेसनको अवस्था ?
पहिलाभन्दा अहिले यसतर्फ धेरैको रूचि बढेको छ । फेसनतर्फ सचेतना बढेको पाउँछु म । गाँस, बास र कपासको स्थायित्वपछि मानिस स्टाइलिस हुन चाहेको मैले पाएकी छु । पछिल्लो समय वेस्टर्न फेसन जस्तो आयो यहाँ पनि त्यसलाई फलो गर्ने बढेका छन् ।
हामीकहाँ फेसनप्रतिको लगाव कस्तो पाउनुहुन्छ ?
हामीकहाँ यसले गुणात्मक विकास गरेको छ । हिजोआज पहिरनमा विविधता आएको छ । आधुनिक मानिसहरूबीच पछिल्लो फेसन अपनाउने होड नै चलेको छ । उनीहरूको धेरैजसो कुराकानी पनि फेसनकै विषयमा हुन्छ । सबैजसो मानिस सकेसम्म समयअनुरूपको फेसन अँगालेर हिँड्ने भएकाले पार्टी, कार्यालय, बजार वा कुनै पनि औपचारिक एवं अनौपचारिक कार्यक्रममा वस्त्राभूषणको चमकदमक देख्न सकिन्छ । फेसनको दुनियामा आएको यस प्रकारको परिवर्तनले पहिरनको महत्वलाई उजागर गर्छ ।
यसलाई स्ट्याटस सिम्बोल पनि मान्न थालिएको हो ?
हो, अहिले आएर हरेक उमेर, वर्ग तथा मौसम सुहाउँदो पहिरनमा देखिनुलाई मानिसहरू स्ट्याटस सिम्बोल पनि मान्न थालेका छन् । उनीहरू मौसम तथा उत्सवअनुरूप बुटिक तथा रेडिमेड वेयरका शोरूम धाउँछन् । विवाहका लागि किनमेल गर्दा बुटिक छनोट गर्छन् । बुटिकमा जानु अब दिनचर्या बनिसकेको छ ।
नेपाली महिलाहरूमा ‘ड्रेस सेन्स’ कस्तो रहेको पाउनुहुन्छ ?
नेपाली महिलाहरूमा छोटो अवधिमै ड्रेस सेन्स विकसित भएको पाउँछु म । पार्टीमा जाँदा महिलाहरू चिटिक्क परेर आउँछन्, डिस्को पार्टीमा निलेन्थ प्रकमा कम्मर मर्काउँछन् भने अफिस जाँदा उनीहरू फर्मल वेयरमा देखिन्छन् । फेसन कन्सियस भएको पाउँछु म नेपाली महिला । पहिले बुटिकमा जाँदा ग्राहकहरू कुन पहिरन कसरी लगाउने भनेर प्रश्न गर्थे तर अहिले उनीहरू आफ्नै डिजाइन लिएर आउँछन् । कोही पत्रिकाको कटिङ ल्याउँछन् भने कोही सिरियल र नायिकाहरूको रिफ्रेन्स लिएर पनि आउँछन् । अहिले काठमाडौं, पोखरालगायतका नेपालका सहरका महिलाहरूको फेसनप्रति रूचि अत्यधिक रहेको पाउँछु म । नेपाली महिलाहरू दक्षिण एसियामै फेसनेबल भएको पनि बताइन्छ ।
हामीले कस्तो कस्तो कुरामा ध्यान पु¥याउनु पर्छ फेसन गर्दा ?
यसलाई व्यक्तित्वसँग पनि त्यसरी जोडेर हेर्ने गरिन्छ । अहिले बजारमा पहिरन र फेसनका हिसाबले विभिन्न थरीका पहिरन पाइन्छन् । पहिरन नसुहाएजस्तो लाग्दा त्यसले व्यक्तिको आत्मविश्वासमा कमी ल्याउँछ । अरूले केही भन्लान् कि भन्ने आशंकाले मनमा ग्लानि पैदा हुन्छ । आफूलाई नसुहाउने पहिरनले जो–कोहीलाई पनि मानसिक तनाव दिनु स्वाभाविक हो । कहिलेकाहीँ आफूलाई मन नपरेको शरीरको भाग लुकाउन मानिसहरू बढी समय खर्चन्छन् । यसले समस्या कम गर्नुको साटो समस्या भएको अंग अझ बढी हाइलाइट हुन्छ । कसैलाई आफ्नो हिप मन पर्दैन भने ठूल्ठूला पकेट भएका वा प्रिन्ट गरिएका जिन्स प्रयोग गर्नु हुँदैन ।
कस्तो डिजाइन गर्न मन पराउनु हुन्छ ?
म सबै प्रकारका डिजाइन गर्र्छु । विगत लामो समयदेखि यसैमा छु । स्लिम तथा मोटा मानिसका लागि डिजाइन गर्न मन लाग्छ । परफेक्ट फिगरलाई त जसले पनि डिजाइन गर्न सक्छ तर मोटा मानिसलाई आकर्षक देखाउनु अर्को चुनौती हो । मलाई चुनौतीका काम गर्दा रमाइलो लाग्छ । यो व्यवसाय अन्य व्यवसायभन्दा चुनौतीपूर्ण छ ।
क्रिएटिभिटी हुन जरुरी छ होइन ?
हो नि । यो व्यसायमा क्रिएटिभिटी हुन जरुरी छ । सानो सानो कुरामा पनि कसरी प्रस्तुत गर्ने भन्ने हुनुपर्छ आफूमा ।
कसरी आकर्षित हुनुभयो यो क्षेत्रमा ?
खासमा म यही पेसा अँगाल्छु भनेर पढेको होइन । म ट्राभल व्यवसायसँग सम्बन्धित मान्छे हुँ । तर, पछि फेसनसम्बन्धी पढेपछि मैले जानेका कुरा अन्यलाई किन नपस्किने भनेर यो पेसा अँगालेकी हुँ ।
सन्तुष्ट हुनुहुन्छ ?
एकदमै सन्तुष्ट छु । आफूले गरेका कामले तारिफ पाइरहँदा अझ हौसला बढ्ने गरेको छ । समाजसेवामा पनि यहाँलाई अग्रणी रूपमा देखिने गरिन्छ नि ? हामी यो धर्तीमा आइसकेपछि, बुझ्ने भइसकेपछि हाम्रो समाजप्रतिको दायित्व पनि हुन्छ । त्यो दायित्वलाई हामीले पूरा गर्नुपर्छ । म हरेक समाजिक कार्यमा सक्रिय भएर लागिरहेकी हुन्छु । पछिल्लो समयमा कोरोना कहरबाट पीडित भएकाहरूका लागि केही सहयोग पु¥याउने कार्यमा लागिरहेकी छु । यसले छुट्टै आनन्द प्राप्त हुन्छ, छुट्टै सन्तुष्टि प्राप्त हुन्छ । म जेसीआईको पहिलो नेपाली महिला पनि हुँ । यसमार्फत पनि धेरै समाजसेवाका काम गरिएको छ ।
यहाँ फेसनसम्बन्धी विभिन्न कार्यक्रमको निर्णायक पनि हुनुहुन्छ र थुप्रै पुरस्कार तथा सम्मान पनि प्राप्त गर्नुभएको छ, कस्तो लाग्छ आफ्ना कामले चर्चा पाइरहँदा र गरेका कार्यले सफलता चुम्दै गर्र्दा ?
पक्कै पनि आफ्ना कामहरूले सफलता पाइरहँदा जो कोहीलाई पनि आनन्दको अनुभूति हुने गर्दछ र त्यो ममा पनि लागू हुन्छ । म यो क्षेत्रमा लामो समयदेखि आफ्ना क्रिएशनहरू पस्किरहेकी छु । मेरो कामले तारिफ पाउँदै गर्दा विभिन्न पुरस्कार र सम्मानहरू पनि प्राप्त भएका छन् । यसले अझ बढी हौसला प्रदान गर्दोरहेछ । यस्तै फेसनसम्बन्धी विभिन्न आयोजनामा निर्णायकको भूमिकामा पनि आफूलाई प्रस्तुत गर्दै आइरहेकी छु । खुसी लाग्छ फर्केर हेर्दा । राम्रो गरिरहेकी छु भन्ने नै लाग्छ ।
अहोरात्र आफ्नो पेसामा सक्रिय रूपले लागिपर्नुभएकी रीना शाक्य जीवनमा अगाडि बढ्नलाई हातमा सीप हुनु पर्ने र त्यतिकै आत्मबल, ईच्छाशक्तिको आवश्यकता पर्ने बताउनु हुन्छ । उहाँले ब्युटीसियन पेसालाई नै रोजेर आफ्नो क्षमता, ईच्छा, लक्ष्यलाई यसै माध्यमबाट पूरा गर्नुपर्छ भन्ने सोची यस क्षेत्रमा लागिपर्नु भएको पनि दुई दशक बढी समय बितिसकेको छ । आफू कसैमा निर्भर नभई आत्मनिर्भर हुनुपर्छ भन्ने सोच बोक्नु भएकी वरिष्ठ ब्युटीसियन रीना शाक्यको सौन्दर्य, श्रृंगारको क्षेत्रमा छुट्टै स्थान बनिसकेको छ । २०६२ सालदेखि ठमेल ज्याठाचौकमा ग्लामर ब्युटीपार्लर एवं ट्रेनिङ सेन्टरको स्थापना गरी अहिले पनि यसै क्षेत्रमा सक्रिय हुनुहुन्छ । उहाँ सौन्दर्य कला संघको आजीवन सदस्य, अल नेपाल ब्युटि एसोसियसनको आजीवन सदस्यलगायत सौन्दर्यसम्बन्धी अन्य संघ, संस्थामा पनि आबद्ध रहेर काम गरिरहनु भएको छ । देशबाहिर हुने सौन्दर्य कार्यशालाहरूमा पनि उहाँको सहभागिता हुँदै आएको छ । उहाँले नेपालका आर्थिक अवस्था कमजोर भएका दिदी, बहिनीहरूलाई विविध संघ, संस्थाको माध्यमबाट प्रशिक्षण दिदै आइरहनु भएको छ । आफूले गर्दैै आएको पेसा वा व्यवसायबाट सन्तुष्ट रहेको बताउनु हुने शाक्यसँग सौन्दर्य प्रसाधनको सेरोफेरोमा रहेर छलफल संवाददाताले गरेको कुराकानीः
सौन्दर्य सामाग्रीको कत्तिको ध्यान दिनु पर्छ ?
मेकअप प्रडक्टको गुणस्तरमा ध्यान दिनु अति आवश्यक हुन्छ । मेकअप प्रडक्ट खरिद गर्नुपूर्व कुन कम्पनीको प्रडक्ट राम्रो हन्छ बुझ्नु जरुरी छ ।
छालाअनुसारको श्रृंगार गर्नुपर्छ भनिन्छ नि ?
हो, स्किनअनुसारको मेकअप प्रडक्ट प्रयोग गर्नुपर्छ । त्यसैले मेकअप गर्नुपूर्व आफ्नो स्किन कस्तो प्रकृतिको छ भनेर जाँच गर्न जरुरी हुन्छ । आयली र ड्राई स्किनका लागि छुट्टाछुट्टै प्रडक्ट प्रयोग गर्नुपर्ने हुन्छ । मेकअप प्रडक्ट लामो समयसम्म प्रयोग गर्नुपर्ने हुन्छ, किनकी यस्ता प्रडक्ट आवश्यकताअनुसार प्रयोग गरिन्छ । त्यसैले यसको एक्सपाएरी डेटबारे पनि राम्ररी जानकार भएर मात्र खरिद गर्न आवश्यक हुन्छ । एक–डेढ वर्ष पहिलेको मेकअप सामग्री खरिद गर्नु हुँदैन किनकी स्किनसँग लापरबाही गर्नु हुँदैन, यो घातक हुन सक्छ ।
प्रशंग बदलौं, अहिले सौन्दर्य व्यवसायको अवस्था कस्तो देख्नु हुन्छ ?
अहिले यो व्यवसायमा प्रतिस्पर्धाको अवस्था छ । विगतको दाँजोमा पार्लर खुल्ने क्रम पनि बढेको छ । पार्लरको संख्यासंगै ब्युटीसियन र प्रयोगकर्ता पनि उत्तिकै बढिरहेका छन् । समग्रमा भन्नु पर्दा राम्रो छ ।
कस्तो खालको उपचारको लागि पार्लर जान्छन् मानिसहरू ?
पार्लरमा खासगरी अनुहार र कपालको सौन्दर्यताका लागि नै जाने हुन् । पहिले जस्तो छैन, अहिले त महिलामात्र नभएर पुरुष पनि पार्लर जाने गरेका छन् । पहिले म नै उपभोक्तालाई चाहिने प्राकृतिक सौन्दर्य सामग्रीको मात्र व्यवसाय गर्थे भने अहिले ब्युटीसियनको कामअनुसार छाला र कपाललाई मात्र राम्रो पार्ने होइन, शरीर भित्रदेखि नै स्वस्थ हुनुपर्छ भन्ने मान्यताबमोजिम अमेरिकाको नै सप्लिमेन्टको डिलर लिएर सेवा विस्तार गरिरहेको छु ।
० हामी कहाँ क्वालिटीको सौन्दर्य सामग्री पाइन्न र ?
नेपालमा सौन्दर्य सामग्री उत्पादन गर्ने कम्पनी खासै छैन । त्यसैले अन्तर्राष्ट्रिय कम्पनीबाट डिलर लिएर मेकअपसम्बन्धी, कस्मेटिक सामग्री स्वदेश, विदेशमा पठाउनेदेखि ठाउँ, ठाउँमा पुगेर आफै उत्कृष्ट सेवा पनि दिने गरेको छु ।
समाजसेवामा पनि त्यतिकै सक्रिय हुनुहुन्छ, समय तालिका कसरी मिलाइरहनु भएको छ ?
जहाँ ईच्छा, त्यहाँ उपाय भनेजस्तै मानिसलाई ईच्छा लाग्यो र चाहना छ भने समय कहिल्यै बाधक बन्दैन । ब्युटीपार्लरमा काम पनि गरिरहेको छु, आर्थिक अवस्था कमजेर भएका दिदी, बहिनीहरूलाई निःशुल्क प्रशिक्षण पनि दिँदै आइरहेको छु । केही काम नपाएर डान्स बारमा काम गरिरहेका उनीहरूलाई केही सीप सिकाउन सकियो भने भोलिका दिनमा राम्रो पेसाबाटै आत्मनिर्भर हुन्छन् भन्नेतिर पनि सोच बनाएर काम गरिरहेको छु ।
जाडो मौसम सुरु भयो, यो अवस्थामा कस्तो मेकअप सामग्री प्रयोग गर्दा राम्रो हुन्छ ?
कतिपय मानिसले जाडो र गर्मीमा एकै प्रकृतिको मेकअप सामग्री प्रयोग गर्छन् । तर, यसो गर्दा छालामा प्रभावकारी प्रतिक्रिया नदेखिन सक्छ । जाडोमा छाला सुक्खा भएको हुन्छ भने गर्मीमा चिल्लो । जाडोमा मोस्चराइजरको बढी प्रयोग गर्नुपर्ने हुन्छ, गर्मीमा चाहिँ मोस्चराइजरको प्रयोग गरिँदैन । बरू, स्किन टोनर प्रयोग गर्नुपर्छ । जाडो र गर्मी मौसमकै लागि भनेर छुट्टाछुट्टै खालका प्रडक्ट खरिद गर्न सकिन्छ ।
अन्त्यमा केही ?
म सबै दिदीहरूलाई आत्मनिर्भर बन्न र त्यसका लागि आफ्नो रुचिअनुसारको सीप सिकी आत्मबल, ईच्छाशक्ति र लगनका साथ लागी पर्न अनुरोध गर्दै यस कार्यका लागि आवश्यक सल्लाह, उत्प्रेरणा र सहयोगका निर्धक्क मसँग सम्पर्क गर्न अनुरोध गर्दछु । हामीलाई जीवनमा अघि बढ्न र सफलता प्राप्त गर्न सल्लाह, उत्प्रेरणा र सहयोगको सदैव आवश्यकता पर्दछ ।
स्वास्थ्य क्षेत्र सुधारलगायतका विषयलाई माग राखी पटक पटक अनशन बस्दै आएका डा. गोविन्द केसीले आगामी १३ कात्तिकबाट पुनः अनसन बस्ने चेतावनी दिएका दिएका छन् । माग पूरा गर्न ८ कात्तिकसम्मको अल्टिमेटम दिएका डा। केसीले तोकिएको समयावधिभित्र माग पूरा नभए १३ कात्तिकबाट अनसन बस्ने भएका हुन्
शिक्षण अस्पताल महाराजगञ्जमा सोमबार पत्रकार सम्मेलन गरी डा। केसीले विगतका अनसनका क्रममा धेरै सम्झौता भएको तर कार्यान्वयन नभएको बताए ।
डा। केसीले विशेषगरी चिकित्सा क्षेत्रमा सुधार, अबैध शुल्क लिने निजी मेडिकल कलेजका सञ्चालकलाई कारबाही, नियुक्ति प्रणालीमा दलीय भागबण्डा अन्त्य, विभिन्न आयोगले दोषी ठहर्याएकालाई कारवाहीलगायतका माग राखेका छन् ।
डा. केसी यसअघि धेरैजसो त्रिवि शिक्षण अस्पतालमै अनसन बस्ने गर्थे । तर अहिले उनले त्रिवि शिक्षण अस्पतालको सेवाबाट अवकास पाइसकेका छन् । उनले अब कहाँ अनशन बस्छन् भन्नेबारे स्पष्ट पारेका छैनन् । आफू नेपाली नागरिक भएकाले नेपालको जुनसुकै स्थानबाट अनशन बस्नसक्ने उनको भनाइ छ ।
तपाईंको शुभनाम, जन्ममिति र ठेगाना बताइदिनुस् न । नाम नारायणप्रसाद मरासिनी, म २०२४ साल पुस ३ गते स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिकास्थित नारायणस्थान भन्ने ठाउँमा जन्मेको हुँ । दिनचर्या कसरी बितिरहेको छ ? जिल्लाका विकास निर्माणका काम गर्दै र संघीय संसद्मा ऐन कानुन बनाउने विकास निर्माणका काममा छलफल गर्दै बितिरहेको छ । परिवारमा को को हुनुहुन्छ ? बुबा, आमा भाइ, भाइका परिवार, बहिनी जिल्ला तिरै छन् । यहाँ म, श्रीमती, २ छोरा र १ छोरी छौं । बुबाआमा के गर्नुहुन्थ्यो ? घरखेती गर्नुहुन्थ्यो । उहाँहरूको स्वभाव कस्तो थियो ? मृदुभाषी, भलो चाहने, परिपक्व काम गर्ने, मेहेनती र शान्त स्वभावको हुनुहन्छ । तपाईंको नि ? भनेको सुनेअनुसार समाजको हित चाहने, कसैले अन्याय गरेको मन नपर्ने, कसैको हानि नोक्सानी नगर्ने र बोल्ड डिसिजन गर्ने थिएँ रे । जागिर खान छोडेर राजनीतिमा किन लाग्नु भयो ? समाजमा कसैलाई दूधभात फालाफाल कसैलाई अनिकालको अवस्था थियो । २०३६ सालको विद्यार्थी आन्दोलन पनि भइसकेको थियो । त्यो आन्दोलनले मलाई प्रभावित पारेको थियो, त्यसैले सबै समान हुने, सबैले गरीखाने व्यवस्था ल्याउन र शोषणरहित समाजको निर्माण गर्ने कम्युनिस्ट राजनीतिमा लागेँ । शोषणरहित समाजको निर्माण भयो त ? त्यसबेलाको भन्दा धेरै राम्रो भयो तर जस्तो सोचेर राजनीतिमा लागेको थिएँ, त्यस्तो भइसकेको छैन । कुट्ने कुटाइ खाने काम कतिको भयो ? म पुलपुलिएको छोरो, स्कुलको पनि कान्छो विद्यार्थी कुट्ने कुटाई खाने भएन बरू २०४६ सालको आन्दोलनमा अनेरास्ववियुले नेतृत्व गरेको जुलुसमा संगठनको झण्डा देखाउँदा प्रहरीले १ लाठी हानेको छ । त्यो बेलाको सामाजिक अवस्था कस्तो थियो ? सामन्ती शासन व्यवस्था भए पनि अनुशासन कडा थियो, गरिबीको चरम अवस्था थियो, जुत्ता, चप्पल लगाउनसमेत सकिँदैन थियो, कट्टु लगाएर हिँडिन्थ्यो । बाल्यकाल कसरी बित्यो ? उकाली ओरालीमा पसिना झार्दै, घाँस दाउरा गर्दै, पढ्दै रमाइलो ढंगले बित्यो । बाल्यकालको कुनै अविस्मरणीय क्षण छ ? बुबाआमाले तिमीले देश र जनताका लागि केही गर्नु पर्छ, तिमीले गर्न पनि सक्छौ भनेर हौसला दिएको याद आइरहन्छ । खान खेल्नमा कस्तो रूचि थियो ? सादा खाना खाने ब्याडमिण्टन खेल्ने । सुरुवाती शिक्षा कहाँ लिनु भयो ? पुतलीबजारस्थित त्रिभुवन आदर्श माविमा । पढाइको स्तर कस्तो थियो ? म अब्बल विद्यार्थीमा पर्थेँे । पढ्दा आर्थिक अभाव कत्तिको भयो ? किसान परिवार भए पनि बुबाआमाले आर्थिक अभाव हुन दिनु भएन । राजनीतिमा कहिलेदेखि लाग्नुभयो ? पाँच कक्षामा पढ्दैदेखि अनेरास्ववियुमा लागेँ । जेल पनि पर्नु भयो ? २०४६ सालको आन्दोलनमा लाठीसम्म खाएँ तर जेल परिनँ । विवाह कोसँग र कसरी गर्नुभयो ? जिल्लाकै विद्यादेवी मरासिनीसँग २०४८ साल फागुन २८ गते मागी विवाह भएको थियो । त्योभन्दा अगाडि कोही केटीसँग मायाँ पिरती बसेन ? मेरो त्यस्तो स्वभाव थिएन त्यसैले त्यतापट्टि ध्यानै गएन । जागिर खाने सोच भएन ? सानैदेखि विद्यार्थी राजनीतिमा लागेँ जागिरतिरको सोचै भएन । नेता को को मनपर्छ ? पुष्पलाल, मदन र मनमोहन बढी मनपर्छ तर देश,जनता र परिवर्तनका लागि योगदान गर्ने नेता सबै मनपर्छ । बढी मन परेर पढेको पुस्तक कुन कुन हुन् ? मेक्सिम गोर्कीको आमा बढी पढेको छु । तपाईंको कमजोरी ? बढी मान्छे चिल्ला कुरा गर्नेसँग,बनावटी भए पनि आफ्ना बारेमा राम्रा कुरा गरिदिँदा र अगाडि फुक्र्याएर पछाडि कुरा काट्दा रमाउँछन् म त्यसो गर्दिनँ छुच्चो भने पनि सत्य जे हो त्यो भनिदिन्छु, त्यस्तो मान्छेलाई पच्दोरहेनछ र मसँग रिसाउँछन् त्यसो गर्नु मेरो कमजोरी हो कि जस्तो लाग्छ । प्रेरणाको स्रोत नि ? आमाबुबा र विभिन्न घटनाबाट सिक्दै भोग्दै यहाँसम्म आएँ । यी सबै घटना र परिस्थिति प्रेरणाका स्रोत हुन । सुख दुःखको क्षण ? मदन, आश्रितको निधन हुदाँ र २०५४ सलामा पार्टी फुट्दा दुःख र २०४६ सालको आन्दोलन सफल हुँदा र गणतन्त्र आउँदा खुसी लागेको थियो । सन्तुष्टि असन्तुष्टि के छ ? समाज परिवर्तनका लागि राजनीतिमा लागेको मान्छे जनताको काम गर्ने अवसर आदरणीय अग्रज नेता र जनताले दिनुभएको छ असन्तुष्टि केहीमा छैन तर जन चाहनाअनुसार काम नभएकोले पूर्ण सन्तुष्टि पनि छैन ।
भूमिका स्याङ्जा जिल्ला पुतलीबजारमा जन्मनुभएका नारायणप्रसाद मरासिनी राजनीतिमा योगदान दिएका नेता हुनुहुन्छ । न्याय र समानताका लागि विद्यार्थीकालदेखि नै अनेरास्ववियुमार्फत कम्युनिस्ट पार्टीको राजनीतिमा लाग्नुभएका उहाँले फासिष्ट पञ्चायती व्यवस्थाका विरुद्ध लाग्दा प्रहरीको कुटाइसमेत खानुभएको छ । विद्यार्थी राजनीतिदेखि जिल्ला पार्टीको विभिन्न तहहुँदै संघीय सांसद र विभिन्न संघ संस्थामा रहेर महत्वपूर्ण योगदान दिइरहनुभएका उहाँले राजनीतिक यात्रा आरम्भ भने ५ कक्षामा पढ्दादेखि नै गर्नु भएको थियो । उहाँले पार्टी निर्माण विस्तारदेखि नीति निर्माण तहमा रहेर सफल र सार्थक भूमिका निर्वाह गर्नु भएको छ । जनताको हित एवं पार्टीको मर्यादा र अनुशासनलाई सदैव उच्च तहमा राखेर परिर्वतन र समृद्धिका लागि निष्ठापूर्ण राजनीति गर्नु भएका उहाँ शालीन नेता हनुहुन्छ । पार्टीलाई वैचारिक एवं राजनीतिक रूपमा सबल बनाउने सन्दर्भमा विनास्वार्थ अगाडि बढ्ने उहाँ लिल्लाका आम जनता र पार्टी पंक्तिमा राम्रो छवि बनाएका परिचित नेता हुनुहुन्छ । उहाँको लगभग ३ दशकको गतिशील राजनीति जीवनयात्रा अहिले सांसदको रूपमा जनताका काम गर्दै अगाडि बढिरहेको छ । जस्तोसुकै चुनौतीको सामना गरेर सत्यको पक्षमा सतिसालझैँ उभिने उहाँ स्वार्थी, जनविरोधी र पार्टीविरोधीहरूलाई शालीन रूपमै प्रस्तुत भएर उनीहरूलाई बदल्न खोज्नुहुन्छ । व्यक्तिगत स्वार्थभन्दा देश र जनताको स्वार्थलाई बढी महत्व दिने उहाँ विचार र सिद्धान्तको फलो गर्ने क्रियाशील नेता हुनुहुन्छ । जनताका काममा खटिरहनु भएका उनै जनसेवक मरासिनीको जीवन संघर्ष अनुभव, अनुभूति, रूचि र स्वभावका विविध पाटोलाई समेटेर जीवनचक्र प्रस्तुत गरेका छौं ।
पारिवारिक पृष्ठभूमि र अनुभव अनुभूति पुतलीबजारको रमणीय सहरमा हुर्किनुुभएका सांसद नारायणप्रसाद मरासिनी सम्य, सुसंस्कारी र त्यहाँको सम्मानित, हुनेखाने परिवारमै जन्मिएका नेता हुनुहुन्छ । उहाँका बुबा दण्डपाणी उपाध्याय, माता हरिकला मरासिनी, श्रीमती विद्यादेवी मरासिनी, जेठा छोरा अनुपम, कान्छो छोरा अनमोल र दोस्रो सन्तानको रूपमा जन्मिएकी एक छोरी जोत्सना मरासिनी हुनुहुन्छ भने एक भाइ र एक बहिनी हुनुहुन्छ । मध्यम वर्गीय परिवारमा २०२४ सालमा जन्मेर ५२ वर्षे जीवनयात्रामा रमाइरहनु भएका मरासिनीको पारिवारिक पृष्ठभूमि असाध्य शान्त र अनुकरणीय छ । उहाँका भाइ दिपक शर्मा मरासिनीले स्कुल सञ्चालन गर्नु हुन्छ । विद्यादेवीसँग वैवाहिक सम्बन्ध गाँस्नु भएका उहाँका जेठा छोराले एमबीए र छोरीले पुल्चोक इञ्जिनियरिङ कलेजबाट बीई सम्पन्न गर्नुभएको छ । उहाँका आमाबुबाले कृषि कर्म नै गरे पनि समाजसेवाका काममा पनि त्यतिकै लाग्नुभएको छ । कुनै खालका खराब काम नगरी कुनै कुलतमा नफसी समाज परिवर्तनका लागि अनगिन्ति संघर्ष गर्नु भएका उहाँले थुप्रै तीता मीठा अनुभव ,अनुभूति संगाल्नु भएको छ , आरोह अवरोह पार गर्नु भएको छ, थुप्रै दुःखका भँगालाहरू पार गर्नु भएको छ, अप्ठयारो बेलामा पार्टीमा काम गरेर योगदान गर्नुभएको छ, जिल्लाका महत्वपूर्ण काम गर्नु भएको छ, जसको सुखद दुःखद दुवै अनुभूति छ उहाँलाई । व्यक्तिगत सुख सयलको परवाह नगरी समाज परिवर्तनका लागि थुप्रै उकाली ओराली गरेको उहाँको अतित दुःख र सुखको दोभानजस्तो छ । सांसदको रूपमा चुनेर जनताले फूलमाला लगाइदिएको, गणतन्त्र आउँदाको सुखद सन्दर्भदेखि पार्टी फुट्दाको र प्रतिगमनको पीडा पनि छ उहाँसँग । बारीमा हलो कोदालो गरेको, घाँस दाउरा काट्न उकाली ओराली गरेको, साथीभाइसँग खेलेको विगतदेखि जिल्ला नेता र संघीय सांसद भएर काम गरेको अतित र वर्तमान उहाँसँग छ । देश र जनताका लागि बोलेको र विकास निर्माणका काम गरेको अनुभूतिदेखि निरङ्कुश पञ्चायतसँग लडेको गौरवगाथा ज्यँुदै छ उहाँसँग । हरेक सन्दर्भ भोगेर आउनु भएका नारायण मरासिनी समाजका लागि महत्वपूर्ण योगदान दिने नेताको रूपमा परिचित हुनुहुन्छ । यो पाटोबाट हेर्दा उहाँ र उहाँको परिवार सबैको पीरमर्का र भावना बुझ्ने सबै कुराको संयोजन भएको सुन्दर र शान्त परिवार देखिन्छ ।
शिक्षा र समाजसेवा किसान परिवार भए पनि शिक्षामा रूचि राख्ने नारायण मरासिनीले सुरुवाती शिक्षा जन्मथलो पुतलीबजारस्थित त्रिभुवन आदर्श माविमा लिनुभयो । त्यहीँबाट एसएलसी उत्तीर्ण गर्नुुभएका उहाँले पीएन क्याम्पस पोखराबाट आईएसी, अमृत क्याम्पस काठमाडौंबाट बीएसी, टीयूबाट भौतिकशास्त्रमा एमएसी र नेपाल ल क्याम्पसबाट एलएलबी उत्तीर्ण गर्नुभएको छ । राजनीतिसँगै समाजसेवाका थुप्रै काम गर्नुभएका उहाँले लक्ष्मी स्मृति सामुदायिक पुस्तकालयको अध्यक्ष, सामुदायिक स्याङ्जा एफएम ८९.६ को उपाध्यक्ष,नवरत्न बचत तथा ऋण सहकारीको संस्थापक अध्यक्ष, रेडक्रसको आजीवन सदस्य, जिल्लाबाट प्रकाशित हुने दैनिक पत्रिकाको सञ्चालक र स्कुलको संस्थापक भएर काम गरिसक्नुभएको छ । यसबाहेक उहाँले विभिन्न संघ संस्थामा रहेर सल्लाहाकारको भूमिका निर्वाह गरिरहनुभएको छ । यो उहाँको अनुकरणीय र ग्रहनीय काम हो ।
राजनीतिक यात्रा र साहित्य सृजना गाउँमा धनीलाई दूध र भात फालाफाल गरिबलाई सधैँको अनिकाल देखेर बाल्यकालदेखि नै यस्तो हुनुहुँदैन, सबै समान हुनुपर्छ, कसैमाथि अन्याय अत्याचार हुनुहुन्न, देश र जनताका लागि केही गर्नुपर्छ भन्ने नारायण मरासिनी त्यसका लागि पाँच कक्षा पढ्दैदेखि अनेरास्ववियुमा रहेर विद्यार्थी राजनीति गर्दै कम्युनिस्ट पार्टीको राजनीतिमार्फत परिवर्तन र जनताको मुक्ति आन्दोलनमा लाग्नुभएको हो । मानव जन्म, जात, धर्म र कामले सानो ठूलो हुँदैन भन्ने मान्यता सानैदेखि राख्ने उहाँ जुछे विचारधारा, चिनियाँ सचित्र, सोभियत संघबाट प्रकाशित हुने पिपुल्स रिभ्युलगायतका प्रगतिशील पत्रपत्रिका पढेर र २०३६ सालको विद्यार्थी आन्दोलबाट प्रभावित भएर २०४४ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी मालेको भातृ संगठन अनेरास्ववियुको सदस्यता लिएर राजनीतिमा प्रवेश गर्नुभएको हो । उहाँले संगठनको विभिन्न कमिटी र पदमा रहेर काम गरिसक्नुभएको छ । पञ्चायती व्यवस्थाका विरुद्ध र २०४५सालमा भारतले नेपालमा नाकाबन्दी लगाउँदा अनेरास्ववियुले नेतृत्व गरेको जुलुसमा अगाडि बढेर नारा लगाउने सन्दर्भमा प्रहरीको कुटाइसमेत खानुभएका उहाँले राजनीतिक उतार चढावका थुप्रै परिघटनाहरू व्यहोर्नु भएको छ । पञ्चायती सामन्तवादका विरुद्ध जेहाद छेड्ने कम्युनिस्ट आन्दोलनमा जीवनको परवाह नगरी राजनीतिमा होमिनुभएका मरासिनी अनेरास्ववियुको जिल्ला सदस्य, प्रजातान्त्रिक राष्ट्रिय युवा संघको जिल्ला सचिवालय सदस्य २०४८ सालमा स्याङ्जा काठमाडौं सम्पर्क मञ्चको सचिव, नेकपा एमाले स्याङ्जा पुतलीबजार गाउँ कमिटी सचिव, २०५३ सालमा नेकपा एमाले स्याङ्जा पुतलीबजार नगर कमिटीको सचिव, क्षेत्रीय कमिटी अध्यक्ष, जिल्ला कमिटी सदस्य, पार्टीको राष्ट्रिय परिषद् सदस्य, अञ्चल कमिटी सदस्यहुँदै संघीय सांसद हुनुभएका उहाँ परिवर्तनका पक्षमा दृढताका साथ काम गर्दै राजनीतिक उद्देश्यमा अगाडि बढ्नु भएका युवानेता हुनुहुन्छ । जनताको आन्दोलन विकास निर्माण र पार्टी काममा कहिल्यै नथाक्ने नारायण राजनीतिमा गुट, उपगुट, चाकडी, चाप्लुसी हुनुहँुदैन आस्था र निष्ठाको राजनीति गर्नुपर्छ भन्ने इमान्दार नेतामा पर्नुहुन्छ । उहाँले पार्टीको कामदेखि सिंगो जिल्लाका जनताका काममा महत्वपूर्ण योगदान दिएर नेकपाको जनप्रेमी नेताको छवि बनाउनुभएको छ । नारायणप्रसाद मरासिनी एउटा राजनीतिज्ञ मात्र होइन साहित्यक व्यक्तित्व पनि हुनुहुनछ । उहाँले २०४४ सालमा पञ्चलाई व्यंग्य गर्दै पञ्चले त के देख्छन र खोई, पञ्चको आँखा नै छैन , विश्वको धनी देश भएर होला हेर्नुस् त मेरो कलधाराको टुटीमा पानी नै छैन भनेर मुक्तकसमेत लेख्नुभएको थियो । उहाँले कविता लेख्ने, वाचन गर्ने कामसमेत थुप्रै ठाउँमा गरेको उहाँ बताउनुहुन्छ ।
विकास निर्माणका काम सामन्ती व्यवस्था फाल्ने र गरिव जनता धनी बनाउने कम्युनिस्ट पार्टीमा जीवनको परवाह नगरी लाग्नुभएका नारायण मरासिनीले देश र जनताको हितमा थुप्रै काम गर्नु भएको छ । उहाँले स्याङ्जाका सबै ठाउँमा हिँउद बर्खा हिँड्न सक्ने गरी सडक सञ्जालले जोड्ने,सडकको स्तरोन्नति गर्ने, भौतिक पूर्वाधार निर्माणका कामहरू गर्ने, बिजुली, खानेपानी, ढल निकासको व्यवस्था, शिक्षा र स्वास्थ्य सुधारका काम, रोजगारी सिर्जनाका काम, बाढीपहिरो नियन्त्रणका कामदेखि विकास निर्माणका काम योजनाबद्ध रूपले प्राथमिकता छुट्याएर गरिरहनुभएका उहाँले अव्यवस्थित सहर विस्तारका समस्या समाधान गर्न पहलकदमी लिइरहनुभएको छ । त्यसैगरी स्याङ्जालाई आत्मनिर्भर बनाउन कृषि आधुनिकीकरणका योजना र कार्यक्रमलाई कृषक लक्षित गरी अगाडि बढाइरहेको बताउनुहुन्छ । यसैगरी स्याङ्जाको विकास र समृद्धिको प्रमुख क्षेत्र पर्यटन भएकोले पर्यटन प्रवद्र्धन, विकास र विस्तारका लागि त्यहाँ भएका पर्यटकीय स्थललाई व्यवस्थित बनाउन, भौतिक पूर्वाधार सुधारका कामहरू गर्ने र थप नयाँ पर्यटकीय गन्तव्य स्थलको अध्ययन गर्ने काम योजनाबद्ध रूपमा अगाडि बढिरहेको मरासिनी बताउनुहुन्छ । त्यसका लागि संघीय सरकारसँग स्रोत साधन जुटाइदिन आग्रह गर्नेदेखि जिल्लाका जनताका व्यक्तिगत र सामूहिक समस्या समाधानमा आफ्नो समय र पहुँचले भ्याउञ्जेल काम गरिरहेको उहाँ सुनाउनुहुन्छ । यी सबै कामलाई हेर्दा सांसद मरासिनीले विकास निर्माणका काम पनि उत्तिकै सक्रियताका साथ गरिरहेको देखिन्छ ।
त्याग र समर्पण बाल्य अवस्थादेखि नै समाजप्रति सचेत नारायणप्रसाद मरासिनीले सुख सयलको परवाह नगरी सबै जोखिम मोलेर निरङ्कुशताविरुद्धको आन्दोलनमा केहीको परवाह नगरी संगठन र पार्टीमा काम गर्नुभयो, सबैको मन जितेर गाउँ, क्षेत्र, जिल्लाहुँदै राष्ट्रिय राजनीतिमा सक्रिय रहनुभयो, पार्टीमा योगदान गर्नुभयो, जिल्लावासी सबैलाई मिलाएर लैजान भूमिका खेल्नुभयो, कार्यकर्ताको मनोबल उच्च राख्नुभयो यो उहाँको त्याग र समर्पण हो ।
चिन्ता पार्टी र समृद्धिको सुन्दरतादेखि शिक्षा, विकास र चेतनामा निकै अगाडि रहेको जिल्लाको रूपमा चिनिने जिल्लाबाट प्रतिनिधित्व गरेका नेकपाका सांसद नारायणप्रसाद मरासिनी मुलुकमा शान्ति, स्थिरता, विकास र समृद्धि आउनेमा आशावादी त हुनुहुन्छ तर पञ्च र कांग्रेसले धेरै बिगारेको देश,जनताले सोचेअनुरूप काम हुन नसकेको र पार्टीमा विचार, सिद्धान्त, निष्ठा, अनुशासन, आचरण, पद्धति, प्रक्रिया, मन्त्री र पार्टीका जिम्मेवार नेताहरूमा सामन्ती व्यवहार, बडप्पन, आफू जिम्दार, जनतालाई रैती ठान्ने प्रवृत्ति र व्यक्तिगत स्वार्थ हावी हुँदै गएकोले पार्टी कतै कमजोर त हुँदै जाने होइन भन्ने कुरामा भने चिन्ता लागिरहेको उहाँ सुनाउनुहुन्छ । पार्टीको मूल नेतृत्वले यस्ता बेथितिको अन्त्य गर्दै जनताको समृद्धि नभेटुञ्जेल कुनै पनि नेताले आफूलाई होइन देश र जनतालाई केन्द्रमा राखेर काम गर्नु पर्नेमा जोड दिनुहुन्छ । अहिले दुई तिहाईको स्थिर सरकार निर्माण भएकोले भ्रष्टाचारको अन्त्य, शान्ति, सुुशासनको सुरुवात, कृषिको आधुनिकीकरण, पर्यटन, यातायात र जलस्रोतको विकास गर्नुपर्छ । त्यतिमात्र होइन आधुनिक प्रविधिको उच्चतम प्रयोग गरेर युवालाई उत्पादनमा जोड्न सक्नुपर्छ, उनीहरूलाई काम गर्ने वातावरण दिनुपर्छ अनि मात्र देश समृद्ध बन्छ भन्ने उहाँको तर्क छ । उहाँको बढ्ता चिन्ता पार्टीप्रति देखिन्छ । यस सन्दर्भमा उहाँ जोड दिएरै भन्नुहुन्छ पार्टीका नेताको सोच व्यवहार, जीवनशैली, मुलुकको वर्तमान अवस्था र जनताको अपेक्षाभन्दा नितान्त विपरीत भएको र यसप्रति सबैको चिन्ता बढिरहेको बताउँदै मुलुकमा शान्ति, स्थिरता, विकास र समृद्धि ल्याउन पुरानो सोच, व्यवहार, संस्कार, संस्कृति र स्वभावमा परिवर्तन हुनुपर्ने, भ्रष्टाचार र अनियमितताको अन्त्य गर्न कठोर नीति ल्याउनुपर्ने, निर्वाचनमा टिकट पाउन र निर्वाचन जित्न जस्तोसुकै हर्कत गर्ने विकृति विसंगति तत्काल रोक्नुपर्ने बताउनुहुन्छ ।
स्वभाव र शैली अधिकांश समय राजनीतिमा लगाउने नारायणप्रसाद मरासिनी मेहेनती, मिलनसार, स्वाभिमानी, अर्काको हितमा काम गर्न उत्साहित हुने, देश, जनता र पार्टीका लागि जस्तोसुकै योगदान गर्न तयार हुने क्रियाशील नेतामा पर्नुहुन्छ । हरेक काम कुरालाई परिणाममा हर्ने र उत्पादनमा जोडिन चाहने उहाँ सबैलाई सृजनशील र दक्ष बन्न प्रेरित गर्नुहुन्छ । उहाँका आमाबुबा पनि अप्ठ्यारोमा परेका जो कोहीलाई सहयोग गर्ने भएकोले उहाँ पनि आवश्यकता र सामथ्र्यअनुसार सहयोग गर्नुहुन्छ । आफूलाई जनताको सेवक ठान्नुहुन्छ, त्यहीअनुसारको आचरण र व्यवहार गर्नुहुन्छ । यसले उहाँलाई अगाडि बढ्न सहयोग पु¥याएको छ । उहाँलाई खान र लाउनमा कुनै सोख छैन, धन सम्पतिप्रति मोह छैन, समाजलाई केही दिऔं भन्ने सकरात्मक सोच छ । यही सोच, शैली र स्वाभावले उहाँलाई असल नेता र जनप्रिय सांसद बनाएको छ । स्वभाव त्यस्तो भएर नै उहाँले स्तम्भकार र छलफललाई शुभकामनासमेत दिँदै भन्नुभएको छ, छलफल स्थापना कालदेखि नै पार्टीको प्रचारक बन्यो, निरङ्कुशताको तारो बन्यो, आवाज नहुनेहरूको आवाज बन्यो, देश जनताको सेवा गर्दै आयो, परिबर्तनको संवाहक बन्यो, यसको यात्रा यस्तै रहोस्, तपाईंको कलम यस्ता काममा अझ बुलन्द बनोस्, यसले नसक्नेहरूलाई सक्ने बनाओस् शुभकामना !
जीवनलाई फर्केर हेर्दा
नारायणप्रसाद मरासिनी राजनीति गर्दा होस् वा सामूहकि काम गर्दा होस्, निजी जीवनका काम गर्दा होस् वा नीति निर्माणका काम गर्दा होस्, साहित्य सृजनाका काम गर्दा होस् वा विकास निर्माणका काम गर्दा होस् जस्तोसुकै चुनौती छिचोल्ने अनि देश र जनताको पक्षमा काम गर्ने इमान्दार नेतामा पर्नुहुन्छ । यही कर्मले उहाँलाई यो उचाइ दिएको छ, देशले चिन्ने सांसद बनाएको छ । यो उहाँ र उहाँको परिवारका लागि सन्तुष्टिको विषय हो । उहाँका यिनै कर्मले स्याङ्जाली जनतालाई समृद्ध पनि पारिरहेको छ । साथीको नजरमा नारायणप्रसाद मरासिनी उहाँ सबैसँग मिलनसार स्वाभाव भएका, कसैलाई नराम्रो नगर्ने, जनताको हितमा रातदिन खट्ने, अन्ययाका विरुद्ध लड्ने, परिर्वतनकारी र विकासमा बढी चाख दिने सांसदको छवि बनाएका सिद्धान्तनिष्ठ र अविचलित नेता भएको कुरा उहाँका मिलनसार साथी निर्मलकुमार शेरचन बताउनुहुन्छ ।
भोजपुरको रमणीय गाउँ टक्सारमा जन्मनुभएका नेपाली कांग्रेसका प्रभावशाली नेता मीनबहादुर विश्वकर्मा राष्ट्रिय राजनीतिमै योगदान दिएका र चिनिएका नेतामा पर्नुहुन्छ । न्याय, समानता र स्वतन्त्रताका लागि विद्यार्थीकालदेखि नै अनेरास्ववियुको राजनीतिमार्फत कांग्रेस पार्टीको राजनीतिमा लाग्नुभएका उहाँले फासिष्ट पञ्चायती व्यवस्थाका विरुद्ध लाग्दा थुप्रै राजनीतिक समस्या झेल्नुभएको छ । तत्कालीन गिरिजाप्रसाद कोइराला र विजयकुमार गच्छेदारले घरमै गएर फकाएर पार्टीमा ल्याएका उहाँले पार्टीका विभिन्न तह र जनवर्गीय संगठनका विभिन्न पदमा रहेर काम गर्दै हाल केन्द्रीय सदस्यको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिरहनु भएको छ । पूर्ववाणिज्यमन्त्री भएर काम गरी सक्नुभएका उहाँले राजनीतिक यात्रा आरम्भ भने ५ कक्षामा पढ्दादेखि नै गर्नु भएको थियो । उहाँले पार्टी निर्माण विस्तारदेखि नीति निर्माण तहमा रहेर सफल र सार्थक भूमिका निर्वाह गरिरहनुभएको छ । जनताको हित एंव पार्टीको मर्यादा र अनुशासनलाई सदैव उच्च तहमा राखेर जनताका लागि निष्ठापूर्ण राजनीति गर्नु भएका उहाँ कांग्रेसका बौद्धिक र शालीन नेता हुनुहुन्छ । पार्टीलाई सैद्धान्तिक, राजनीतिक रूपमा सबल बनाउने सन्दर्भमा विनास्वार्थ अगाडि बढ्ने उहाँ आम जनता र पार्टी पंतिमा स्थापित र परिचित हुनुहुन्छ । अखिलको राजनीतिमार्फत कांग्रेसको प्रजातान्त्रिक समाजवादमा अगाडि बढ्नु भएका उहाँको लगभग साँढे ३ दशकको गतिशील राजनीति जीवनयात्रा अहिले केन्द्रीय सदस्यको रूपमा जनताका काम गर्दै अगाडि ब ढिरहेको छ । जस्तोसुकै चुनौतीको सामना गरेर सत्यको पक्षमा उभिने उहाँ शिष्ट र शालीनरूपमा बुझाएर मान्छेको मन, आचरण र स्वभाव बदल्न खोज्नुहुन्छ । व्यक्तिगत स्वार्थभन्दा देश र जनताको स्वार्थलाई बढी महत्व दिने उहाँ नीति सिद्धान्तमा कहिल्यै सम्झौता नगर्ने क्रियाशील नेता हुनुहुन्छ । मुलुकलाई समृद्ध बनाउन, कांग्रेसलाई एकताबद्ध बलियो र पुनर्ताजी बनाउन खटिरहनु भएका उनै जनसेवक सांसद विश्वकर्माको जीवन संघर्ष अनुभव, अनुभूति, रूचि र स्वभावका विविध पाटोलाई समेटेर जीवनचक्र प्रस्तुत गरेका छौं ।
दिनचर्या कसरी बित्दै छ ? एउटा जनप्रतिनिधिको हिसाबले पार्टीगत, राजनीतिक काम, संसदीय गतिविधिका काम र निजी जीवन अन्तर्गत घरायसी कामकाज गर्दै । काम राम्ररी नै भइरहेका छन् ? मेरो जीवन पद्धतिमा आउने सबै कामहरू म योजनागत रूपमा व्यवस्थित ढंगले गर्छु त्यसैले राम्ररी नै भइरहेका छन् । कस्ता कस्ता काम कसरी गर्नुहुन्छ ? राजनीतिक, सामाजिक विषयहरूका काम साथीभाइहरूसँग, संसदीय मोर्चाका कामहरू पार्टीमा, विकास निर्माणका जनतासँग र व्यक्तिगत कामहरू परिवारसँग छलफल गरेर गर्ने गर्छु । योजना बनाएर काम गर्ने मान्छे सफल हुन्छन् रे कतिको सफल हुनुहन्छ ? जीवनको सफलता असफलता नाप्ने यन्त्र हुँदैन यो अनुभूति गर्ने कुरा हो । कसैले सफलता धन प्राप्तिलाई, कसैले ऐसआरम मोजमज्जालाई, कसैले पद प्रतिष्ठालाई त कसैले देश र जनताका हितमा गरेका कामलाई लिन्छन । मैले गर्न नहुने अन्यायपूर्ण कुनै काम अहिलेसम्म गरेको छैन, देश र जनताका हितमा काम गरेको छु त्यसैले सफलै छु भन्ने लाग्छ । सबैले पत्याएको नेता, पूर्वमन्त्री, हाल माननीय पैसा त रामै्र कमाउनु भएको होला नि ? अर्कालाई अन्याय गरेर र अनैतिक काम गरेर धन सम्पत्ति थुपार्ने काम राम्रो होइन त्यो मैले गरिनँ र गर्दिनँ पनि । तपाईंको शुभनाम, जन्म मिती र ठेगाना बताई दिनुस् न ? मेरो नाम मीनबहादुर विश्वकर्मा, म २०२४ साल चैत्र १६ गते भोजपुर जिल्लाको साविक टक्सार गाविसको वडा नं ९ मा जन्मेको हुँ । २०४० सालमा धरान झरेँ हाल काठमाडौंमा बस्छु । तपाईं कुन वर्गमा पर्नुहुन्छ अनि परिवारमा को को हुनुहुन्छ ? पहिले जातीय रूपमा पनि वर्ग हुन्थ्यो त्यसमा म गाउँको तल्लो जातिको उच्च वर्गीय परिवारमा पर्थेँ । बुबा आमा बितिसक्नुभयो, हाल ३ दाजुभाइ ५ दिदीबहिनी श्रीमती, १ छोरी र १ छोरा छौं । बुबाआमा के गर्नुहुन्थ्यो ? हामी सुनार भएकोले बुबा सुनको, आमा घरको काम गर्नुहुन्थ्यो । उहाँहरूको स्वभाव कस्तो थियो ? धर्मकर्ममा आस्था राख्ने, अर्काको त्यसै खानु, अन्याय गर्नु हुँदैन भन्ने, सबैको भलो चाहने, कसैलाई भनी नबिझाउने परोपकारी हुनुहन्थ्यो । तपाईंको नि ? आमाकै स्वभाव छ समाजको हित चाहने, कसैको हानि नोक्सानी नगर्ने, कसैको केही नबिगारिदिने,कसैसँग झगडा नगर्ने सबैसँग मिल्ने । जागिर खान छोडेर राजनीतिमा किन लाग्नु भयो ? २०३६ सालको आन्दोलन भइसकेको थियो, फासिष्ट पञ्चायती व्यवस्थाको अन्त्य गरी शोषणरहित र जाति वर्ग विभेदरहित समाजको निर्माण गर्न । मिलनसार हुँनुहुँदो रहेछ कुट्ने कुटाइ खाने काम त भएन होला ? खेलमा बाजी जित्दा टिमले खटाएर बाहुन साथीलाई एक मुक्का हानेको छु । अर्को २०६२/६३ को आन्दोलनमा ६ जना सिपाहीले लाठीले हानेर ढाल्न नसकेपछि उस्को थ्रीनटथ्री राइफल खोसेर प्रहरी निरीक्षकले राइफलको कुन्दाले टाउकोमा हानेर टाउको फुटाएपछि १२ दिन बेहोस भएको छु । जेल पनि पर्नुभयो ? ८ कक्षामा पढ्दा प्रहरीले फक्राउ ग¥यो तर नाबालक भनेर कागज गराएर छोडिदियो । त्यो बेलाको सामाजिक अवस्था कस्तो थियो ? सामन्ती शासन व्यवस्था थियो, विकास थिएन्, गरिबी, शिक्षा त्यस्तै थियो, वर्गीय खाडल र जातिय छुवाछुदको चरम अवस्था थियो । बाल्यकाल कसरी बित्यो ? भोजपुरमा उकाली ओरालीमा पसिना झार्दै, खेतीपाती गर्दै, पढ्दै, शोषकहरूसँग लड्दै उतार चढावमा बित्यो । बाल्यकालको कुनै अविस्मरणीय क्षण छ ? म ८ कक्षा पढ्दा मितबुबा प्रधानपञ्चमा उठ्नु भएको थियो । उहाँको र मेरो राजनीतिक विचारधार फरक थियो । उहाँका विरुद्ध साथीहरू जम्मा गरेर नारा लगाएँ । त्यो उहाँले देखेर घोडा लिएर घर आउनु भयो, साथीहरू बटुलेर मेराविरुद्ध नारा लगायो भनेर आमालाई भन्नुभयो । हो भनेर आमाले सोध्दा होइन भनेँ । उहाँले यसले झुट बोल्यो भनेर भन्नुभयो र आमाले एक झापट हानेको र बाजी राखेर खेल खेलिन्थ्यो जितेपछि एक मुड्की कुटनुपर्दथ्यो त्यस्तै खेल खेल्दा हामीले जित्यो हाम्रो टिमबाट मलाई कुट्न खटाइयो, कहाँ हान्ने भनेर मलाई रोजाए मैले रोजेर बाहुन साथीलाई नाकमा मुक्का हान्दा बेहोस भएर ढले । पछि अत्तालिएर गाउँलेलाई बोलायौं गाउँले आएर पानी छर्के, खुवाए, तीतेपाती सुँघाए अनि साथी बौरेपछि किन यसो गरेको भनेर सोधे । मैले खेल खेल्दा यस्तो भएको भने । कुटिने साथीलाई सोधे, उस्ले पनि खेल्दा कुटेको भन्यो । त्यसपछि साथी बोल्न छाड्यो । पछि बेकार कुटेछु भन्ने लाग्यो त्यो सम्झना आइरहन्छ । खान खेल्नमा कस्तो रूचि थियो ? खानामा त्यस्तो कुनै रूचि थिएन जे पाक्यो त्यही र खेल्नमा मार्सल आर्ट । पहिलो शिक्षा कहाँ लिनुभयो ? कक्षा सातसम्म भोजपुरको मैयापानी निमावि स्कुलमा । पढाइको स्तर कस्तो थियो ? निमाविसम्म पहिला दोस्रा भएँ । म शिशुमा पढ्थँे, १ र २ का विद्यार्थीलाई लाज होस् भनेर उनीहरूले नजानेको कुरा मलाई त्यहाँलगेर गुरुआमाले भन्न लगाउनुहुन्थ्यो । म फटाफट भन्थेँ । उनीहरूले नजानेको म भन्दिन्थेँ । शिशुमा पढेपछि मलाई कक्षा १ को परीक्षामा राखियो । होलफस्ट भएर दुईमा गएँ । त्यहीबेला दाइ २ मा फेल हुनुभयो र दाजुभाइसँगै पढ्यौ । पढ्दा आर्थिक अभाव कत्तिको भयो ? बुबा गाउँको दलित वर्गको हुने खाने परिवार भएकोले आर्थिक अभाव भएन । राजनीति कहिले सुरु गर्नुभयो ? २०३६ सालको झापा आन्दोलनबाट प्रभावित भएँ, कक्षा ५ मा पढ्दा पढ्दैदेखि अनेरास्ववियुमा लागेँ । जागिर खानुभयो कि भएन ? देवीचरण उपाध्यायले कृषि सेवा उपकेन्द्र धनकुटामा लगेर मुखियामा २०४१ सालमा जागिर लगाइदिनुभयो । त्यहाँ १ महिना काम गरेँ र तलब ६ सय ७५ आएको थियो । १ महिनापछि छोडेँ । त्यसपछि बोर्डिङमा पढाएँ । विवाह कोसँग कहिले कसरी गर्नुभयो ? २०४७ साल वैशाख १७ गते निरू पौडेल विश्वकर्मासँग अन्तर्जातीय प्रेम विवाह भयो । पहिला कसले प्रेम प्रस्ताव राख्यो ? हामी एकले अर्कालाई मन पराउँथियौं, त्यही बेला निरूलाई माग्न आउन लागेपछि बाबाले उनीलाई विवाह गरिदिने विचार गर्नुभएछ । त्यो कुरा उनले मलाई भनिन् र विवाह गर्ने प्रस्ताव गरिन् । मैले अन्तर्जातीय विवाह गर्दा भोलि केही समस्या आउँछ कि भनेँ तर उनले दृढताका साथ तपाईंलाई विवाह गरेर मैले लाने होइन, म तपाईंसँग जाने हो के को समस्या भनिन् । त्यसपछि हामीले सल्लाह गरेर भाग्यांै र दार्जीलिङ गएर बस्यौं । पछि ससुरा बुबाले बोलाएपछि आयौं र विधिपूर्वक विवाह ग¥यौं । आउँदा ससुरा बाको डर भएन ? उहाँ हामीलाई खोज्दै दार्जीलिङ नै पुग्नु भएको थियो । पछि बोलाउनु भयो । त्यो बेलामा अन्तर्जातीय विवाह सहजै स्वीकार गर्नु ससुरा बाको महानता हो । उहाँको स्वभाव कस्तो छ ? उनी मेरी आमापछिको आमाजस्ती इमान्दार, मिलनसार, कसैसँग नराम्रो नगर्ने, केही गरौं भन्ने स्वभावकी छिन् । तपाईंबाट उहाँले कस्तो अपेक्षा गर्नुहुन्छ ? घरमा समय बढी देओस्, परिवारको हेरविचार गरोस्, माया बढी देओस्, पैसाका लागि मरीहत्ते नगरोस् र सामाजिक प्रतिष्ठा बढाओस् भन्ने अपेक्षा गर्छिन् । दुईजनाबीच कहिलेकाहीँ ठाकठुक पर्छ कि पर्दैन ? आजसम्म नराम्रो केही भएको छैन, यसर्थ हामी दुवै भाग्यमानी हौं । नेता को को मनपर्छ ? सुवर्ण र बीपी मनपर्छ । बढी पढेका पुस्तक कुन कुन हुन् ? चीनको सांस्कृतिक क्रान्तिको रातो तारा, मेक्सिम गोर्खीको आमा, बीपीको जेल जर्नल र आत्मवृतान्त । तपाईंको कमजोरी ? मैले आफ्नो कमजोरी पत्ता लगाउन सकेको छैन । प्रेरणाको स्रोत नि ? आमाबुबा, आमाको भूमिका निर्वाह गर्ने, पढाउने, काखमा राखेर माया गर्ने तारा कार्की, स्वामी दयानन्द सरस्वती र संघर्ष गर्ने म आफैँ । सन्तुष्टि असन्तुष्टि के छ ? मैले आजसम्म कसैको अहित हुने, कसैलाई अन्याय हुने, कसैको चित्त दुःखाउने काम गरेको छैन, सबैको हित नै गरेको छु, कसैलाई नराम्रो बचन गरेको छैन, जीवनभर जनताकै लागि गरिरहेको छु, असन्तुष्टि छैन । सामाजिक सञ्जाल कत्तिको उपयोग गर्नुहुन्छ ? सूचनाको लागि फेसबुक उपयोग गर्छु ।
पारिवारिक पृष्ठभूमि भोजपुर टक्सारमा जन्मनुभएका पूर्वमन्त्री मीनबहादुर विश्वकर्मा तत्कालीन समयमा बोलिने भाषा दलित भए पनि त्यस गाउँठाउँको सभ्य, सुसंस्कार र गाउँको सम्मानित परिवारका नेता हुनुहुन्छ । उहाँका स्व. पिता बखतबहादुर र स्व.माता टीकामाया विश्वकर्मा सुनको व्यवसायमा आबद्घ हुनुहुन्थ्यो । मध्यवर्गीय परिवारमा २०२४ सालमा जन्मेर ५२ वर्षे जीवनयात्रामा हिडिरहनु भएका उहाँको परिवार अनुकरणीय छ । उहाँका २ दाजुभाइ र ५ दिदीबहिनी सबैको अवस्था राम्रो छ, सबै आ आफनो जिम्मेवारी र भूमिकामा हुनुहुन्छ । सबै दाजुभाइ, दिदीबहिनीहरूको घरजम भइसकेको छ । २०४७ सालमा निरू पौडेल विश्वकर्मासँग वैवाहिक जीवनमा बाँधिनु भएका उहाँका एक छोरी र एक छोरा हुनुहुन्छ । उहाँकी जीवनसंगिनी निरू पौडेल विश्वकर्माले एमए उत्तीर्ण गर्नभएको छ, कलेज र स्कुल पढाउनुहुन्छ । छोरीले मास्टर सक्नुभएको छ भने छोरा पढिरहनुभएको छ । उहाँका बुबाआमा अप्ठेरोमा परेकालाई आर्थिक सहयोगदेखि अन्य सबै सहयोगका कामहरू गर्न रूचाउनु हुन्थ्यो । यसको छाप मीनमा पनि परेको छ । श्रीमतीले अध्यापन गरेर देशलाई आवश्यक पर्ने दक्ष जनशक्ति उप्पादन गरेर र उहाँले सिंगो जीवन राजनीतिमा लगाई देशको विकास निर्माण र समृद्धिमा योगदान दिनुभएको छ, छोराछोरीलाई उच्च शिक्षा अध्ययन गराइरहनुभएको छ । उहाँको परिवार देश विकास र राजनीतिमा अन्तर्घुलन भएको छ, सबै क्षेत्रमा योगदान छ । झैझगडा नराम्रो केही छैन,सबैको पीरमर्का र भाबवना बुभ्ने शान्त र अनुकरणीय परिवार छ ।
अनुभव अनुभूति व्यक्तिगत स्वार्थमा भन्दा सामूहिक स्वार्थमा बढी समय दिएर समाज परिवर्तनका लागि अनगिन्ती संघर्ष गर्नु भएका मीनबहादुर विश्वकर्माले थुप्रै तीतामीठा अनुभवको अनुभूति गर्नुभएको छ, धेरै खालका आरोह अवरोह पार गर्नु भएको छ । उहाँले बुबाआमा बित्दाको पीडादेखि जातीय विभेद, शोषणलगायत अन्य थुप्रै समस्याका र दुःख सुखका भगाँलाहरू पार गर्नु भएको छ । त्यतिमात्र होइन, आफूलाई मन पराउने जीवन संगिनी रोज्दा समाजको डरले घर छोडेर परदेश बस्नु परेको तीतो पीडा पनि छ उहाँसँग । अखिलको राजनीतिदेखि कांग्रेसको केन्द्रीय सदस्य र मन्त्रीसम्म भएर विभिन्न कामको अनुभव गरिसक्नुभएको छ । सुखसयलको पर्बाह नगरी न्याय र समानताका लागि निरङ्कुशताविरुद्धको आन्दोलनमा हाम फाल्नुभएका विश्वकर्माले धरपकड, वारेन्ट, जेल र प्रहरीको मरणासन्न हुने गरिको पिटाइसमेत भोग्नुभएको छ । सांसदको रूपमा चुनेर जनताले फूलमाला लगाइदिएको, मन्त्रीको रूपमा बधाई र स्वागतका पुष्पगुच्छा समाएको सुखद सन्दर्भदेखि किसान मजदुरसँग भलाकुसारी गरेर कृषिकर्म गरेको पार्टी र जनताको हितका खातिर भोकै हिँडेको सन्दर्भ मात्र होइन, कांग्रेस पार्टी फुट्दाको दुःखद क्षणदेखि प्रतिगमनको पीडाहुँदै गणतन्त्र आएको सुखद क्षण पनि छ उहाँसँग । यसका साथै राजनीतिकै कारण जागिर छोड्नुभयो, सुख सयल छोड्नुभयो, जनताका काममा दौडनुभयो, मण्डले र दोस्रो जनआन्दोलनका प्रतिगमनकारीका आदेशपालक प्रहरीको कुटाइबाट टाउको फुटाएर १२ दिनसम्म बेहोस हुनुभयो, समाजका लागि महत्वपूर्ण योगदान दिनुभयो । यसले उहाँलाई सुखानुभूति गराएको छ ।
शिक्षा र रोजगारी शिक्षामा सानैदेखि रूचि भएका मीनबहादुर विश्वकर्माले निमाविसम्मको शिक्षा गाउँकै स्कुलमा लिनु भयो भने नौसम्मको शिक्षा विद्योदय माविमा लिनुभयो । एलएलसी धरानबाट उत्तीर्ण गर्नुभभएका उहाँले आईए बीए,बीएबीएल महेन्द्र बहुमुखी क्याम्पस धरानबाट र एमए महेन्द्र मोरङबाट उत्तीर्ण गर्नुभयो । सातवटा बोर्डिङ स्कुलमा र केही कलेजमा पढाउनुभयो, राष्ट्रिय दलित आयोगको सदस्यमा नियुक्ति पाएर काम गर्नुभयो, मन्त्री भएर काम गर्नुभयो, सांसद भएर काम गर्नुभयो । राजनीतिकै कारण पढाउने कामसमेत छोडेको उहाँ बताउनुहुन्छ ।
राजनीतिक यात्रा र समर्पण समाजमा व्याप्त अन्याय अत्याचार, जातीय विभेद, वर्गभेद र गरिबीबाट गाउँका निम्नवर्गका, मध्यमवर्गका र तल्लो जातका मान्छेहरू निक्कै पिरोल्लिइरहेका हुन्थे । शोषकहरू राजनीतिमार्फत ठूलाठूला पदमा बसेर सोझा सीधा जनतामाथि शासन गर्ने, शोषण गर्ने गर्थे । यसैबाट प्रभावित भएर यसको अन्त्य गर्न राजनीति नै गर्नु पर्नेरहेछ भन्ने थाहा पाएपछि ५ कक्षा पढ्दादेखि नै राजनीतिमा झुकाव राख्ने मीनबहादुर विश्वकर्मा चिनियाँ क्रान्ति र २०३६ सालको विद्यार्थी आन्दोलनबाट प्रभावित भएर राजनीतिमा लाग्नुभएको रहेछ । त्यो २०३६ सालको आन्दोलनको बेला उहाँका दाइहरूलाई प्रशासनले पक्रने भएपछि सुनसरीबाट भागेर भोजपुर गएर बस्नुभएको र उहाँहरूबाटै राजनीतिक प्रशिक्षण लिएको, उहाँहरूले पढेका क्रान्तिका पुस्तकहरू पढेर गरिबको हित गर्ने पार्टी कम्युनिस्ट पार्टी हो, यसले समानताको वकालत गर्छ भनेको सुनेर त्यसैको भातृ संगठन अनेरास्ववियुको राजनीतिमार्फत परिवर्तन र जनताको मुक्ति आन्दोलनमा लाग्नुभएको हो । २०४० सालमा भोजपुरमा ८ कक्षामा पढ्दा प्रहरीको गिरफ्तारीमा पर्नुभएका उहाँलाई नाबालक भनेर कागज गराएर छोडेको उहाँ बताउनुहुन्छ । माक्सवाद, लेनिनवाद, समाजवाद, राजतन्त्र, बीपीको प्रजातान्त्रिक समाजवादलगायत पाँचवटा वादका बारेमा बीएमा अध्ययन गर्नुपर्ने रहेछ । त्यससँगै उहाँले माक्र्स र बीपीको जीवनी पनि पढ्न थाल्नुभएछ । अध्ययनकै क्रममा माक्र्सको भन्दा बीपीकै जीवनी नेपाली समाजअनुकुल, नेपाली समाजलाई प्रभावित पार्न सक्ने, विदेशी नेताको सिद्धान्त मान्नुभन्दा आफ्नै देशका नेताको सिद्धान्त मान्नु, बोक्नु राम्रो भन्ने कुराले मेरो मन छोयो । त्यहीबेला मदनकुमार भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) ल्याएको, त्यसको अंग्रेजी रूपान्तरण मल्टिपार्टी डेमोक्रेसी हुने भएकोले नेपाली कांग्रेस र कम्युनिस्टको एउटै बाटो भएको बुझेर कम्युनिस्ट दर्शन छाडेर कांग्रेस दर्शनको राजनीति गर्न आफूलाई मन भएको उहाँ बताउनुहुन्छ । तथापि कांग्रेसका मान्छे मन नपर्ने तर सिद्धान्त मनपर्ने कम्युनिस्ट रहनै नसक्ने अवस्थाले आफूलाई बेचैन बनाएको विश्वकर्मा बताउनुहुन्छ । यही सन्दर्भमा मनमोहन अधिकारीलाई भेटेर यो सबै भनेपछि उहाँले मदनलाई भेट्न भनेको र मदनलाई भेटन पर्खँदा कोसी अञ्चल इञ्चार्ज अशोक राईलाई भेटी आफू कम्युनिस्ट रहन नसक्ने कुरा गर्दा त्यस्तो हो भने कसैलाई गाली नगरी छोड्दा राम्रो भन्नुभएको, त्यो कुरा मनमोहनलाई सुनाएको र त्यसो भए यो २०५१ को निर्वाचनचाहिँ मलाई सघाउन भन्नुभएको र बुबा त्यहीबेला बिरामी भएर काठमाडौं ल्याएर टिचिङमा उपचार गर्नुपर्ने भएकोले काठमाडौ आएको,यहाँ मनमोहनलाई चुनावमा सघाएर जिताएको र त्यसपछि निस्क्रिय बसेको उहाँ बताउनुहुन्छ । उहाँ कम्युनिस्ट पार्टी छोडेर निस्क्रिय बसेको कुरा कांग्रेसका गिरीजाबाबुलाई कसैले भनिदिएको र उहाँ विजयकुमार गच्छेदार घरमै आएर कांग्रेसमा काम गर्न भनेको उहाँ बताउनुहुन्छ । मैले म कम्युनिस्टचाहिँ होइन कांग्रेस हुन गाह्रो छ, कांग्रेसको सिद्धान्त राम्रो छ मान्छे मनपर्दैन भने । उहाँहरू मुखामुख गर्नुभयो र मलाई ठीक छ तपाईं कांग्रेस हुनुहोस् किनकी तपाईंले मन नपराएका कांग्रेस सँधै बाँच्दैनन् तपाईंले मन पराएको कांग्रेसको विचार कहिल्यै मर्दैन । यसर्थ तपाईं यहाँ आउनुस् र तपाईंलाई मनपर्ने कांग्रेस बनाउनुस् भन्नुभयो । मैले हुन्छ सल्लाह गर्छु भनेँ,उहाँले कोसँग भन्नुभयो मैले घरपरिवारसँग भनेँ उहाँले विजय दाइतिर हेरर भन्नुभयो ‘ल हेर्नुस् तपाईंहरूले कहिल्यै घरपरिवारसँग सल्लाह गरेर राजनीति गर्नुभएको थियो ? यी यस्तो हुन्छ व्यवस्थित काम गर्ने मान्छेको भन्नुभयो । ल अहिल्यै सल्लाह गर्नुस् भन्नुभयो, मेरी श्रीमतीलाई बोलाउनुभयो र तपाईंसँग सल्लाहा गरेर मीनजी कांग्रेस हुनुहुँदैछ अब तपाईं पनि कांग्रेसमा आउनुपर्छ भन्नुभयो । श्रीमतीले हुन्छ भनिन् र हामीले एक महिनापछि २०५४ मा कांग्रेस भयौं । कांग्रेस भएको १ महिनामै गिरिजाबाबुले मेयरको टिकट दिनुभयो । तर, त्यहाँ मनमोहनको क्षेत्र जित्न त सकिँदैन थियो । थोरै मतले हारेँ । यसरी म कांग्रेस भएँ भन्दै मीन भन्नुहुन्छ सोचेको सबै पाइँदैन, नसोचेको हात पर्छ । उहाँले पार्टीको विभिन्न तहमा रहेर काम गर्नुभयो, मन्त्री हुनुभयो हाल सांसद र केन्द्रीय सदस्य रहेर पार्टीको काम गरिरहनुभएको छ । जनता र पार्टीका काम गर्दा कहिल्यै नथाक्ने मीन निष्ठाको राजनीति गर्नुपर्छ भन्ने इमान्दार नेतामा पर्नुहुन्छ । मार्सल आर्ट सिकेका उहाँलाई २०६२÷६३ सालको आन्दोलनमा जुलुसको नेतृत्व गर्दा ६ जना प्रहरीले घेरेर बाँसका भाटाले कुट्दा पनि ती सबैका भाटा छलेपछि यो त खेलाडी पो रहेछ भनेर प्रहरीको कमाण्ड गरिरहेको प्रहरी निरीक्षकले नै सिपाहीको राइफल खोसेर कुन्दाले टाउकोमा हानी बेहोस पारेको उहाँ बताउनुहुन्छ । यसरी विद्यार्थी अवस्थादेखि नै समाजप्रति सचेत भएर सबै जोखिम मोलेर निरङ्कुशताविरुद्धको आन्दोलनमा निरन्तर लाग्नुभयो, पार्टीले अह्राएका काम गर्दै जनताको मन जितेर राष्ट्रिय राजनीतिमा सक्रिय रहनु भयो, कार्यकर्ताको मनोबल उच्च राख्नुभयो यो नै उहाँको महत्वपूर्ण राजनीतिक काम हो ।
विकास निर्माणका काम पद, प्रतिष्ठा, मान सम्मानभन्दा पनि कामलाई ठूलो ठान्ने मीनबहादुर नौमहिने चुनावी वाणिज्यमन्त्री हुँदा सात प्रदेशमा व्यापार प्रवद्र्धनका लागि १ नं प्रदेशको धरानमा, २ को वीरगञ्जमा, ३ को काठमाडौंको चोभारमा, ४ को दमौलीमा, ५ को दाङमा, ६ नं को सुर्खेतमा र ७ नं को कञ्चनपुरमा प्रदर्शनीस्थल राख्ने, विदेशबाट आउने सामान नचोरिउन्, सिल नतोडिउन्, मूल्य घटाएर राजस्व नछलुन् भनेर वल्र्ड बैकसँग सहकार्य गरेर गाडीमै ४२ सयको डिभाइस राखेर प्रत्येक गाडीमा लाखौं रुपैयाँको खर्च जोगाउने र नेपाल आउने मालसामान पनि सुरक्षित गर्ने, कसैले चलाउन नपाउने, चलाए साइरन बज्ने र थाहा हुने प्रविधि जोडेर नेपाली व्यापारीको अनावश्यक खर्च जोगाउने काम गरेको, पश्मिनाको व्यापारका लागि ऊन खरिद गर्न अष्ट«िे लयाका रामा्र े ऊन फय् ाक्टी« सगँ सम्झौता गरेर हाम्रो मुलुकको २० क्षेत्रमा सबै कुरा सरकारले दिएर प्रत्येक क्षेत्रमा १० वटाका दरले च्याङग्रा पाल्न ९ अर्बको योजना बनाएको थिएँ अहिलेको सरकारले त्यसलाई निरन्तरता दिएन, त्यसैगरी दोधारा चाँदनीमा ड्राइपोट र भन्सार, धनगढी वनवासा नाकालाई भन्सारमा कायम गराएँ, बर्दियाको गौरीफन्टा नाका र त्यसमा जोडिने रोड निर्माण गरेको, मुलुकको राजस्व बढाउन दर्ता नभएका सानातिना पसललाई व्यवसाय गर्नेलाई जुनसुकै सरकारी कार्यलयमा दर्ता गर्न दर्ता छुटको व्यवस्था गर्न खोजे तर कर्मचारीले सहयोग गर्दा त्यो सबैलाई होइन विपन्न, गरिब, दलित र महिलालाई ५ करोडसम्मको व्यवसाय दर्ता गर्दा विनाशुल्क दर्ता प्रमाणपत्र दिने भनेर क्याबिनेटबाट निर्णय गराएँ । अहिले त्यो क्षेत्रका मान्छे खुसी भएका छन् । त्यसैगरी व्यापारीका लािग अभिभावकत्व ग्रहण गर्दै न्यून विजकीरणको अन्त्य गरी मूल्य लुकाउनु पर्ने बाटो बन्द गरी मूल्यअनुसारको राजस्व तिर्ने बनाएँ । त्यसले व्यापारी पनि खुसी भए, राजस्व पनि बढ्यो । यीलगायत अन्य प्रशासनिक काममा पनि राम्रै योजनाका साथ काम गरेको सांसद मीन बताउनुहुन्छ ।
चिन्ता समृद्धिको राजनीतिका थुप्रै भोटा फटाउनुभएका मीनबहादुर विश्वकर्मा व्यवस्था परिवर्तन गर्दैमा जनता सुखी नहुने मान्छेको सोच र काम गर्ने तरिका परिवर्तन हुनुपर्ने बताउने उहाँ पञ्चायतविरुद्धको आन्दोलनमा लाग्दा र टिमुरबोटे काण्डमा राजाले थुनेका कांग्रेसका कार्यकर्तालाई बीपीले भारतबाट नेपाल आएर जिम्मा लिएर जेलबाहिर निकाल्नुभयो तर प्रचण्डको निर्देशनमा काम गरेका बालकृष्ण ढुंगेललाई उहाँले जिम्मा नलिँदा उनले थुनिनु प¥यो, नेतृत्व राम्रो हुँदा र नहुँदा धेरै फरक पर्छ भन्दै देश बिग्रनमा जनताले दुःख पाउनमा कांग्रेस कमजोर हुँदै गएर हो भन्ने उहाँ अब कांग्रेसले सही बाटो लिनुपर्ने, बीपीको जीवनपद्धति, कार्यशैली समात्नु पर्ने र लोकप्रिय भएर काम गर्नुपर्ने बताउनुहुन्छ । तर, अहिले त्यस्तो नभएकोमा चिन्ता लागेको बताउँदै उहाँ कांग्रेसले अब आफनो साँगठानिक अवस्था, समसामयिक नीति, नेताको प्रवृत्ति र कार्यशैली बदलेर जानुपर्छ र कांग्रेस अगाडि आउनुपर्छ यसो भयो भने कांग्रेसले फेरि बहुमत ल्याउँछर मुलुकमा शान्ति, स्थिरता, विकास र समृद्धि आउने बताउनुहुन्छ ।
स्वभाव र शैली अधिकांश समय राजनीतिमा लगाउने मीनबहादुर विश्वकर्मा मेहेनती, मिलनसार, स्वाभिमानी, अर्काको हितमा काम गर्न उत्साहित हुने, देश, जनता र पार्टीका लागि जस्तोसुकै योगदान गर्न तयार हुने क्रियाशील पूर्वमन्त्री र नेतामा पर्नुहुन्छ । हरेक काम याजे ना बनाएर गनर्,े कामलार्इ परिणाममा हर्ने े र जनताका काममा जोडिन चाहने उहाँ सबैलाई सृजनशील बन्न प्रेरित गर्नुहुन्छ, आफूलाई जनताको सेवक ठान्नुहुन्छ, म ठूलो मान्छे हुँ भनेर घमण्ड गर्नुहुन्न, त्यहीँअनुसारको आचरण र व्यवहार सबैसँग गर्नुहुन्छ । यसले उहाँलाई जनसेवी नेता बन्न सहयोग पु¥याएको छ । उहाँ अरूलाई दुःख दिएर शोषण गरेर, अनैतिक काम गरेर धन सम्पत्ति थुपार्नेलाई र अरूलाई गाली गरेर होच्याएर सन्तुष्टि लिनेहरूलाई घृणा गर्ने गरेको बताउनुहुन्छ । जीवन गाडी, धन इन्धन भएको बताउँदै गाडी नकिनी इन्धनको कुनै आवश्यकता नपर्ने, नचली घरमा बसेको निस्क्रिय गाडीलाई इन्धनको आवश्यकता नपर्ने र नचल्ने गाडी कहीँ पुग्न पनि नसक्ने दार्शनिक तर्क दिने उहाँ समाजलाई केही दिऔं, जनताका लागि केही गरौं भन्ने सकरात्मक सोच र असल आचरण भएका कांग्रेस नेतामा पर्नुहुन्छ । यही सोच,शैली र आचरणले उहाँलाई असल नेता, पूर्वमन्त्री र जनप्रिय सांसद बनाएको छ ।
जीवनलाई फर्केर हेर्दा उहाँका कतिपय समकालीन साथीहरू उच्च प्रशासक छन्, कतिपय डाक्टर, इन्जिनिएर र पाइलट छन् कतिपय प्रहरी र सेनाका उच्च तहमा छन्, पैसा कमाएका छन्, सुविधासम्पन्न जीवन पनि बिताएका छन्, उहाँ राजनीतिमा लागेर पूर्वमन्त्री, सांसद र केन्द्रीय सदस्य हुनुहुन्छ, सामाजिक प्रतिष्ठा र जिम्मेवारीका हिसाबले उनीहरूभन्दा माथि हुनुहुन्छ, राष्ट्रिय छवि छ, दर्जनौ अमूल्य पदक र सम्मानहरू थाप्नुभएको छ, देश र जनताले चिन्ने नेता हुनुभएको छ, पार्टीले सुम्पेका सुम्पेका काम सक्रियता र इमान्दारिताका साथ गरिरहनु भएको छ, यही कर्मले उहाँलाई यो उचाइ पनि दिएको छ, जीवन सार्थक पनि बनाएको छ ।